आमा-बाबुलाई सधै माया र सम्मान दिने गरौ -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ वैशाख २३ गते १८:१५ मा प्रकाशित

prakash 1

सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा कागजमा लेखेर र मुखले बोलेर अभिव्यक्त गर्न सकिदैन किनकी आमाबाबुले आफ्ना सन्तान प्रति अगाढ माया, स्नेह , ममता, आफ्नत्व, आत्मियता र भरोसा गरिरहेका हुन्छन् । जव कोही व्यक्ती आमाबाबु बन्छ त्यतीवेला थाहाँ हुन्छ की सन्तानको माया र भरोसा कति हुन्छ भनेर तर विडम्वनानै मान्नु पर्छ पछिल्लो समयमा आएर नेपालमा विस्तारै आमाबाबु प्रति छोराछोरीहरुको दायित्व र जिम्मेवारीतामा कमि आउँदै गएको छ । अनेक पिडा र कठिनाईमा जनतन दु:ख र कष्ट गरेर हुर्काएर खुट्टामा टेकिने/अडिने बनाए पछि विस्तारै आफुलाई जन्मदिने हुर्काउने, बढाउने, पढाउने अभिभावकलाईनै भुलेर वा भुलेको नौटंकी गरेर उनीहरुलाई वेवास्ता गर्ने प्रवृती बढ्दै गएको छ ।

आधुनिक संस्कार र संस्कृतीको नाममा पढेलेखेर आफ्नो खुट्टामा उभिन समर्थवान बनेर शहर वा विदेशको सडकमा पाईला टेक्दा बित्तिकै विगतमा खाईनखाई दुखेसो गरेर राप र तापमा हुर्काएका आफ्ना बाबुआमा र अभिभावकहरुलाई मन र मस्तिष्कबाट विस्मरण गर्दै जाने प्रवृतीले प्रशय पाएको हामीले आजकल न्युजमा आउने गरेको गाउँघरमा सन्तानको पीडामा र ममता एवं स्यारसुसारको अभावमा तड्पिएर छट्पटाएर बसेका बुढा आमाबाबाहरुको दर्दनाक अवस्थाले पनि यस कुरालाई थप पुस्टी गर्दछ । त्यस्तै सडकमा अल्पत्र परेका वृद्धहरु, घरबाट निकालेर जवर्जस्ती वृद्धाश्रममा ल्याएका वृद्धहरुको कथाव्यथा, रोदन व्यापकरुपमा आजकल सामाजिक संजाल र ईलेक्ट्रोनिक मेडियाहरुमा आउने गरेको देखिन्छ । कतिपय त विद्धान र समाजसेवी अझै सम्पन्न भनौदाहरुले समेत आफ्ना आमाबाबाहरुलाई धर्मशाला र वृद्धाश्रमहरुमा लगेर अलपत्ररुपमा छोडेर हिडेको पनि समाचारहरु पढ्न पाईन्छ । यस्ता गतिविधी बढ्दै जानु पक्कै पनि गलत सोच र गलत मानसिकताको उपजनै हो ।

कतिपय विदेशी संस्कारको अपुरो नक्कल र अपुरो सुनाई एवं हल्लाको भरमा आमाबाबुलाई हेला गर्ने, अलग्गै राख्ने, कुनै रेखदेख नगर्ने र म फलनाको छोराछोरी हुँ भनेर चिनाउन पनि नचाहने आचारणगत व्यवहार प्रस्तुत गरेको पाईन्छ । संसारमा कुनै पनि सन्तानले आमाबाबुलाई होच्याएर हेर्ने, दु:ख र पिडामा सहयोग नगर्ने भन्ने कमै हुन्छन् । विकशित देशहरुमा उमेर पुगेका सन्तान आमाबाबुबाट अलग बसेका पनि हुन्छन् तर पनि त्यहाँको सरकार र संस्कारले वृद्ध अवस्थामा पुगेका व्यक्तीहरुलाई कसरी सेवा-सुविधा र सामाजिक सुरक्षा दिने भन्ने बारे विशेष व्यवस्था गरेको हुन्छ त्यही अनुसार तिनीहरु चल्छन् तापनि सन्ततीहरुले चटक्कै माया नै मार्छन् भन्ने कुरा हैन । उनीहरुले पनि आफ्ना अभिभावक, आमाबाबु प्रति जिम्मेवारिता निर्वाह गरिरहेका हुन्छन् ।

यति सम्मकी लागु औषधीको कुलतमा फसेको, चोरी डकैती गरेर लुटेर खानेले समेत आमाबाबु प्रति देखाउनु पर्ने श्रदा र भक्ती देखाईरहेकै हुन्छ। तर हाम्रोमा आजकल सन्तानहरु आमाबाबु प्रति त्यती धेरै जिम्मेवार भएको पाईदैन । यद्धपी कतिपय छोराछोरीहरुले आफ्ना आमाबाबाहरुलाई आफुलाई भन्दा पनि बढि ख्याल राख्ने, उनीहरुको सुख -दु:खमा प्रगाढरुपमा साथ दिन गरेको पनि पाईन्छ । यो कुरा जो जो आफ्ना आमाबाबु प्रति जिम्मेवार र ममताको छहारी दिनबाट टाढा भएका छन् उनीहरुको लागी मात्र भन्न खोजिएको हो । अवस्य पनि हामी जो कोही हाम्रो सन्ततीबाट मायाममता र मायाको शितलछारी खोज्छौ र त्यसै किसिमको पाठ सिकाउन खोज्छौ भने हामीले पनि आफ्नो जन्म दिने र कर्मको बाटो देखाउने आमाबाबुहरुलाई त्यही अनुरुप व्यवहार गर्न सक्नु पर्छ ।

पक्कै पनि हामी बच्चा अवस्थामा छदाँ र परिपक्क भएर विवाह गरेर सन्ततीको आमाबाबु समेत बनि सक्दा समान किसिमको जिम्मेवारी र हैसियतमा नहौला । श्रीमती, बच्चाबच्ची, ईस्टमित्र, आफन्त, साथीभाई, समाज सबै तिर आफ्नो जिम्मेवारिता निर्वाह गर्नु पर्ने होला तथापी आफुलाई हातगोडा बांगोटिंगो बनाएर हिड्नेलाई सिधा टेक्ने बनाएर हिड्न सिकाउने, बोल्न सिकाउने देखि अक्षर चिनाएर स्कुल -कलेज पढाएर जागिर, व्यवसाय गर्ने, शहर-विदेश जान सक्ने बनाउने धर्तीमा पाईला टेकाउने जन्मदाताहरुलाई पनि आफुले पुर्याउनु पर्ने जिम्मेवारितामा कमि भने आउन दिनु हुँदैन । उमेर र शक्ती हुन्जेल रातदिन झरीबादल, असिना-पानी, हुरी बतास र हुण्डरी नभनी काम गरेर गाँस काटेर हुर्काउने आमाबाबुलाई जसले अपमान गर्छ , चित्त दुखाउँछ त्यस्ता सन्तानले नाम र दाम कमाएर कुनै अर्थ हुँदैन तिनीहरु बाँचेर पनि ज्युउँदै मरे सरह हुन्छ ।

त्यसैले सधै सधै आफ्ना आमाबाबु जस्तोसुकै भएपनि गाउँले पाखे लेखपढ गर्न र बोल्नै नजान्ने, सुकिला -मुकिला नभए पनि उनीहरुलाई माया गरौ, लालनपालन उचित रेखदेख गरौ । स्वर्गको खोजीमा मन्दिर, मस्जिद, गुम्बा, चर्च धाउनु भन्दा आफ्ना मातापिताको सम्मान र संरक्षण गरौ त्यो नै सच्चा स्वर्ग जाने काम र सास्वत भगावान-प्रभुको सेवा हो यसैमा मानव पुण्ड्य हुन जान्छ । भगवानको मुर्तिमा भेटि र फलफुल चढाएर धर्म कदापी हुँदैन त्यसको अलवा आमाबाबुलाई सुखी राखौ र सकिन्छ भने सडकमा खान नपाएका, लगाउने वस्त्र नभएका असाहय बालबालिका, वृद्धाहरुलाई सक्दो सहयोग गरौ यसबाट नै मानव कल्याण र परोपकार हुन सक्छ ।

अहिले हाम्रो देशमा समेत मातातिर्थ औशीमा आमाको मुख र कुशे औशीमा बाबुको मुख हेर्ने दिनलाई धुमधाम सँग मनाउने चलन बढिरहेको छ । एक हिसावले यो ठिकै पनि हो । कम्तीमा बर्षको एकपटक आमाबाबुलाई संझिने आधार त भयो । तर केवल एकपटक आमाबाबुलाई फेसनको रुपमा बाहिर समाज र छरछिमेकीलाई देखाउन नाटकको रुपमा यसलाई चाडवाड र पर्वको रुपमा मनाउने तर अरु बर्षको ३६४ दिन खासै मतलव नगरि आमाबाबुलाई वास्ता, रेखदेख नगर्ने , दु:ख -विमार हुँदा कानमा तेल हालेर बस्ने, देखे नदेखे गर्ने, विदेशमा हुनेले अघिपछि वास्ता नगर्ने जव आमाऔशी र बाऔशी आउँछ तव घरमा फोन गर्ने , फेसवुक लगायत सामाजिक संजालमा भावनात्मक शव्दहरुले आमाबाबुलाई संझने जस्ता गतिविधी मात्र हुने हो भने यसले खासै अर्थ र महत्व राख्दैन ।

अत: साँच्चिकै जिम्मेवार सन्तान हुने हो भने आमाबाबुलाई साहारा र मद्दतको खाँचो परेको वेला आडभरोसा दिने बुढेसकालको लट्ठी(लौरो) बनेर सधै साथ दिन सक्नु पर्छ तव मात्र सच्चा सन्तान हुन सकिन्छ । अहिलेको नयाँ पिढीले समेत यस कुरालाई गम्भीरताका साथ मनन गरेर सोही अनुसार आफ्ना सोच र व्यवहार प्रदर्शित हुनु जरुरी छ । कुनै पनि सन्तानलाई जन्म र कर्म दिने बाबुआमाहरुलाई रोग, सोक र सन्तापमा दुखी जिवन सन्तानबाट पिडित भएर व्यतित गर्न नपरोस् । सबै सन्ततीहरुमा सद्वुद्दी आओस् र आफ्ना अभिभावक प्रति सधै जिम्मेवार बन्न सकुन यही कामना छ । यस धर्तीमा सन्तानहरुलाई जन्म दिने सबै सबै आमाबाबुहरुमा हार्दिक नमन गर्दै आमा औशी र बाऔशीको हार्दिक शुभकामना व्यक्त गर्दछु । सबैको जय होस् ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

प्रतिक्रिया