पोषणयुक्त खानामा पहुँच सुधारका लागि कार्यक्रम

इनेप्लिज २०७२ चैत ३० गते ३:३० मा प्रकाशित

Balanced dietजाजरकोट, ३० चैत । हेल्भेटास स्विस इन्टरको–अपरेसन नेपालको सहयोगमा मध्य तथा सुदूरपश्चिमका १० जिल्लामा पहाडी कृषि पारस्थितिकीय प्रणालीमा आधारित पोषण कार्यक्रम सुरु गरिएको छ । पर्याप्त पोषणयुक्त खानामा पहुँच सुधार गरी कुपोषण हटाउन यो कार्यक्रम लागू गरिएको हो ।

कार्यक्रम मध्यपश्चिमका जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, जुम्ला, मुगु, कालिकोट तथा सुदूरपश्चिमका अछाम र बाजुरा गरी १० जिल्लामा सञ्चालन गरिएको हो । जाजरकोटमा आयोजित एक कार्यक्रममा तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रमले पोषणयुक्त खानाको पहुँचमा जोड दिने हेल्भेटास नेपाल पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण कार्यक्रमकी राष्ट्रिय संयोजक सोमाकुमारी रानाले बताउनुभयो ।

देशको आधाभन्दा धेरै जनसङ्ख्या कुपोषणको सिकार भएकाले कुपोषण घटाउन यो परियोजना कोसे ढुङ्गा सावित हुने उहाँको विश्वास छ ।
कार्यक्रमले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, पोषण आवश्यकता, बाली विविधता, स्थानीय खाद्य उत्पादन तथा उपयोगमा जोड दिनेछ । पारिवारिक पोषणका लागि बागवानी, कोसेबाली, पोषण बगैँचा, मौसमी तथा बेमौसमी तरकारी खेती र विद्यालय पोषण बगैँचा स्थापना तथा प्रवद्र्धनमा आवश्यक सहयोग गरिने कार्यक्रम संयोजक रानाले बताउनुभयो ।

पहाडी कृषि पारस्थितिकीय प्रणालीमा पोषण परियोजनाले बाली उत्पादन तथा पोषण विविधतामा कमी, पौस्टिक खाद्य पदार्थको अपर्याप्तता, व्यवहारमा परिवर्तन ल्याउने सञ्चार, खानेपानी तथा सरसफाइ, गरिबी र सचेतनाका कारण सिर्जित कुपोषणप्रति संवेदनशील पहाडी कृषि पारस्थितिकीय प्रणाली सुधारमा जोड दिने बताइएको छ ।

परियोजनाले ग्रामीण सेवा प्रदायकको कार्यगत सञ्जालमार्फत पहाडी पारस्थितिकीय प्रणालीमा पोषण सुधार तथा अनुकूलन प्रवद्र्धनका लागि दिगो कृषि अभ्यास प्रवद्र्धन गर्नेछ ।

प्रतिक्रिया