आगलागी पीडितलाई आपत्कालीन राहत वितरण

इनेप्लिज २०७२ चैत ३० गते ३:२१ मा प्रकाशित

इटहरी, ३० चैत । दुई दिनअघि भीषण आगलागी भई घरवारविहीन बन्न पुगेका सुनसरी भोक्राहाका अग्नीपीडितलाई सरकारका तर्फबाट सोमबार प्रतिपरिवार रु पाँच हजारका दरले आपत्कालीन राहत प्रदान गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंको नेतृत्वमा गएको सुरक्षा टोलीले अग्नीपीडितलाई राहत वितरण गरेको हो ।

गत २७ गते दिउँसो भोक्राहा गाविसमा लागेको भीषण आगलागीमा परी २१ परिवारको ५६ घर गोठ जलेर पूरै नष्ट भएपछि ती परिवार अहिले घरवारविहीन बन्न पुगेका छन् । ती पीडित परिवारलाई खाने बस्ने र रात बिताउनका लागि चाहिने आवश्यक लत्ताकपडा खानेकुरा तथा अन्य आधारभूत सामग्री उपलब्ध गराउने विषयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको विशेष बैठक बस्ने पनि प्रमुख जिल्ला अधिकारी चापागाईंले जानकारी दिनुभयो ।

आगलागी भएर घर जलेर नष्ट हुँदा भोक्राहाकी ७८ वर्षीया ज्येष्ठ महिला मदिना खातुनको मुटुको शल्यक्रियाका लागि ऋणपान गरेर जम्मा पारेर छोरी मदिना खातुनले राखेको रु नौ लाख पनि पूरै जलेर नष्ट भएको पीडित महिलाले बताइन् । वृद्धा मदिनाको मुटुको शल्यक्रियाका लागि तत्काल काठमाडौँ जानुपर्ने चिकित्सकले सल्लाह दिएर मिति दिइसकेको बताइएको छ । तर पैसा जलेका कारण उनको उपचार असम्भव हुन पुगेको छ ।

धरानको भानुचोकमा आकासे पुल बन्ने

धरान उपमहानगरपालिकाको अति व्यस्त चोकका रुपमा रहेको भानुचोक क्षेत्र पैदलयात्रीका लागि ज्यादै जोखिमपूर्ण बनेपछि भानुचोकस्थित घन्टाघर क्षेत्रमा आकासे पुल निर्माण गरिने भएको छ ।
भानुचोकमा आकासे पुल निर्माणका लागि सक्रिय रहनुभएकी कलाकार शशी थापाले आफू बसेको धरान सहरको आवश्यकता पूरा गर्नका लागि आफूहरुले बेलायतमा कम्तीमा रु ५० लाख सङ्कलनको तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

धरान समाज युकेको सक्रियतामा धरानको घन्टाघर क्षेत्रमा आकासे पुल बनाइने र त्यसका लागि काठमाडौँस्थित इन्नोभेटिभ कन्सल्टेन्सीले नक्सा डिजाइन गरिसकेको निर्माण समितिका सचिव अजय राईले बताउनुभयो ।

प्रतिक्रिया