तालको ठेक्काको काम अन्योलमा

इनेप्लिज २०७२ चैत ३० गते ३:२१ मा प्रकाशित

धनगढी, ३० चैत । ताल तलैयाको उपयोग गर्ने विषयमा बढेको विवादसँगै कैलालीको भजनी–त्रिशक्ति नगरपालिका कार्यालयद्वारा दिइएको तालको ठेक्काको काम अन्योलमा परेको छ ।

स्थानीय सामुदायिक वन उपभोक्ता समिति र नगरपालिका कार्यालयबीच नगर क्षेत्रमा रहेका प्राकृतिक ताल तलैया उपयोग गर्ने विषयमा विवाद रहेको छ ।

सो क्षेत्रका ठूला लौकाभौका र कोलकोतला ताललाई बढाबढद्वारा ठेक्कामा दिई ठेकेदारलाई इजाजत दिई सकिएको अवस्थामा विवाद सिर्जना गरिएपछि ठेक्काको काम अन्योलमा परेको कार्यालयका निमित्त कार्यकारी अधिकृत विष्णुदत्त भट्टले बताउनुभयो ।

“यी ठूला दुई तालमा नयाँ विवाद सिर्जना गरिएको छ” भट्टले भन्नुभयो– “पहिलेदेखि ठेक्कामा दिइएका अन्य पाँच÷छ वटा तालबाट आउने किस्ताबापत्को रकम नगरपालिका कार्यालयमा आउन पनि बन्द भएको छ ।”

यी दुवै तालमध्ये एउटा ताल रु आठ लाख ५० हजार र अर्को ताल रु ४५ हजारमा नगरपालिका कार्यालयले वार्षिक ठेक्कामा लगाएको थियो ।

सामुदायिक वनको कार्यविधि र स्थानीय स्वायत्त शासन ऐन बाँझिएकाले तालको उपयोगको विषयमा दुवै पक्षबीच विवाद देखिएको बताइएको छ ।

स्थानीय वन उपभोक्ताले तालको उपयोग र संरक्षण आफूहरुले गर्न पाउनु पर्ने भन्दै सङ्घर्ष समिति पनि गठन गरेको बताइएको छ ।

यता जिल्ला वन कार्यालयका सहायक वन अधिकृत भीमप्रसाद ढकालले आफू अनुकूल कानुनको व्याख्या गर्ने प्रवृत्तिले ताल उपयोग गर्ने विषयमा विवाद सिर्जना भएको बताउनुहुन्छ ।

राष्ट्रिय वन क्षेत्रमा पर्ने ताल ठेक्कापट्टामा लगाउन नपाउने कानुनी व्यवस्था भएकोमा राष्ट्रिय वन उपभोक्ता समितिमा हस्तान्तरण भइसकेको अवस्थामा भने प्राकृतिक संरचना नबिगार्ने गरी उपभोक्ताले नै यी प्राकृतिक स्रोतको उपयोग र संरक्षण गर्न पाउने ढकाल बताउनुहुन्छ ।

कैलाली जिल्लाको यो एउटै नगर क्षेत्रमा लौकाभौका, कोलकतला, घोरताल, ढुंग्रुवा, नोकिया, रुक्ली, सोनियालगायतका साना ठूला गरी १८ भन्दा बढी प्राकृतिक ताल रहेका छन् ।

नगरपालिकाको आम्दानीको प्रमुख स्रोतका रुपमा यी ताल तलैया र पानीघाट व्यवस्थापन नै रहेका छन् ।

प्रतिक्रिया