लोकतान्त्रिक पद्धतिबाट हिँड्न आवश्यक छ: पूर्वराष्ट्रपति यादव

इनेप्लिज २०७२ चैत २८ गते १४:०८ मा प्रकाशित

Rambaranकाठमाडौँ, २८ चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सरकार संयमित तथा आन्दोलनरत मधेसी मोर्चा लोकतान्त्रिक पद्धतिबाट प्रस्तुत हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति छत्रमान गुरुङको आत्मकथामा आधारित कृति ‘जनताको छोरो’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रको बाटो र विधिबाट हिँडेर संसद्बाटै समस्याको समाधान खोज्न आन्दोलनरत दलहरुलाई म आह्वान गर्दछु ।”

आफ्नो घरभित्रको समस्या समाधान नगर्ने अनि अरुलाई दोष दिने काम गर्नु हँुदैन भन्दै पूर्वराष्ट्रपति यादवले मुलुकको प्राकृतिक स्रोत साधन र सम्पदाको दोहन र नोक्सानी हुँदा कुनै राजनीतिक दल नबोलेको भनी चिन्ता व्यक्त गर्नुभयो ।

“मुलुकमा गणतन्त्र र लोकतन्त्र आएको छ, कानुनी शासनको जति नै रटान दिएपनि राज्यका संयन्त्रलाई प्रजातान्त्रिक ढङ्गबाट अघि बढाउन राजनीतिक दलको ध्यान पुगेको छैन, सङ्घसंस्था धरासायी बनाउने काम भइरहेको छ”–पूर्वराष्ट्रपति यादवले भन्नुभयो ।

नेपाली सेना जहिले पनि लोकतन्त्रको पक्षमा उभिएको चर्चा गर्दै उहाँले सेनाको छविलाई धुमिल गर्ने प्रयासलाई रोकेर आफूले सङ्गठनलाई बचाए पनि न्यायालय र अरु सुरक्षा सङ्गठनमा भने राजनीतिक हस्तक्षेपका कारण क्षतविक्षत् भएको गुनासो गर्नुभयो ।

राष्ट्र र राष्ट्रियतालाई केन्दबिन्दुमा राखेर आफूले काम गरेको बताउँदै पूर्वराष्ट्रपति यादवले राजनीतिभन्दा माथि उठेर राष्ट्रलाई ध्यान दिएर प्रमुख तीन दल र मधेसी मोर्चाको सहमतिमा आई समस्याको निकास खोज्ने भूमिका निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिनुभयो ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली सेना लोकतन्त्रको बाधकका रुपमा कहिल्यै नउभिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना सत्ता हातमा लिने धारणाबाट कहिल्यै चलेन, जहिले पनि लोकतन्त्रप्रति सद्भाव राखेको पाउँछु ।”

पुस्तकमाथि समीक्षा गर्दै प्रा लोकराज बरालले ठेट शब्दको प्रयोग र सरल भाषामा लेखिएको जनताको छोरो पुस्तकको अध्ययनबाट सेनापति गुरुङले नेतृत्व गर्नुभएको समयमा नेपाली सेनाको सङ्गठन सुदृढीकरण र विकासका बारेमा विस्तृतरुपमा जानकारी आर्जन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लेखक गुरुङले २०६६ भदौ २४ देखि २०६९ भदौ २४ गतेसम्म नेपाली सेनाको महारथीको जिम्मेवारी सम्हालेका बखत नेपाली सेनासँग सम्बन्धित रहेभएका निर्णय, विकास र विस्तारका विषयवस्तु पुस्तकमा समेटिएको जानकारी दिनुभयो ।

पूर्वप्रधानसेनापतिकी धर्मपत्नी कमला गुरुङ प्रकाशक रहनुभएको सो पुस्तकको मुल्य रु ५०० राखिएको छ । प्रकाशक गुरुङले जनताको छोरो प्रधानसेनापति आफ्नो पदीय जिम्मेवारी र अनुभवको दस्तावेजका रुपमा रहेको छ, भन्नुभयो ।

तीन सय ७८ पृष्ठ रहेको उक्त पुस्तकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद, नेपालमा अनमिन, माओवादी लडाकुको समायोजन, लडाकु, हतियार र शिविर नेपाली सेनाको मातहतमा आएको प्रसङ्ग, आफ्नो तीनवर्षे कार्यकालको उपलब्धि, विदेश भ्रमण तथा पुलिमराङदेखि शशि भवनसम्मका विषयवस्तुलाई आत्मकथाको रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया