सिंहदरबारका कुकुर व्यवस्थापन सुरु

इनेप्लिज २०७२ चैत २८ गते १२:५२ मा प्रकाशित

dogs

काठमाडौँ, २८ चैत । महानगरले सिंहदरबार भित्र छाडिएका कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ ।

व्यववस्थापनको कामअन्र्तगत अहिले कुकुरको तथ्याङ्क लिने काम लगभग सकिएको महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सिंहदरबारमा १५० वटा कुकुर रहका छन् । विभिन्न स्थानमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा अनावश्यक कुकुर उत्पादन भई समस्या उत्पन्न भएको छ ।

कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनका समयमा समस्या उत्पन्न गराएकाले व्यवस्थापन गर्न लागिएको महानगरपालिकाले उल्लेख गरेको छ । सिंहदबारको कुकुरको व्यवस्थापनको काम सकेपछि उपत्यकामा रहेका अन्य कुकुरको व्यवस्थापन सुरु हुनेछ ।

“कुकुर पाल्ने र बुढो एवम् बिरामी भएपछि त्यसलाई सडकमा छाड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो”–महाशाखा प्रमुख श्रेष्ठले भन्नुभयो । कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सहभागिता रहनेछ । अभियानका लागि झन्डै रु तीन करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरको बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररूपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने बताइएको छ । घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ । तथ्याङ्क लिने क्रममा रेबिज रोग लागेको नलागेको र अन्य रोगसमेत छ छन् भन्ने कुरा पनि समावेश गरिने बताइएको छ ।

प्रतिक्रिया