चन्दा सङ्कलन गरेर खानेपानी योजना निर्माण

इनेप्लिज २०७२ चैत २७ गते ३:३९ मा प्रकाशित

फलेवास (पर्वत), २७ चैत । गाउँमा जस्तोसुकै विकास निर्माणका काम गर्दा पनि राज्यकै मुख ताक्नुपर्ने परम्परालाई तोड्नै यहाँको एक गाउँका बासिन्दाले श्रमदान र चन्दा सङ्कलन गरेर खानेपानी योजना निर्माण गरेका छन् ।

पर्वतको कुस्मा नगरपालिका–७ दुर्लुङ चनौटेका बासिन्दाले गाउँमा खानेपानी योजना निर्माण गरेका हुन् । गत वैशाख १२ को भूकम्पका कारण क्षतविक्षत बनेको खानेपानी योजना स्थानीयवासीले आफैँ मर्मत गरेका हुन् । योजना मर्मतका लागि जिविस र कुस्मा नगरपालिकामा पटकपटक माग गरे पनि कुनै सहयोग नपाएपछि आफैँ रकम सङ्कलन गरेर खानेपानी योजना सञ्चालन गरिएको स्थानीयवासी सुवेदार टेकबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो – “जिविस र नगरपालिकासँग पटक पटक सहयोग माग गर्दा पनि नपाएपछि आफैँ रकम सङ्कलन गरेर योजना सञ्चालनमा ल्याएका हौँ ।” बस्तीभन्दा माथि रहेको बराहथानको मुहानबाट गाउँमा पानी ल्याएर पिउन थालिएको उहाँले जानकारी दिनुभयो । चनौटे गाउँमा रहेका ६८ परिवारले प्रत्येक घरधुरीबाट ८३० रुपैयाँका दरले रकम सङ्कलन गरी योजना सञ्चालन गरिएको हो ।

एक वर्षसम्म खानेपानीको सुविधाबाट वञ्चित हुनसमेत सम्बन्धित निकायले मर्मतका लागि चासो नदेखाएपछि स्थानीयवासी आफँै जागरुक बनेको स्थानीयवासी राजन गुरुङले जानकारी दिनुभयो । योजना सञ्चालन भएपछि अहिले खानेपानीको सहज उपलब्धता भएको छ ।

सङ्कलित रकमले ३५० मिटर पाइप तथा ट्याङ्की र धारा मर्मतका लागि खर्चिएको थियो भने स्थानीयवासी आफँै श्रमदानमा समेत सक्रिय बनेका थिए । जिल्लामा खानेपानीका लागि भित्रिएको ठूलो रकम वार्षिक रुपमा फ्रिज भएर जाने गरेको भए पनि आफ्नो गाउँको समस्यालाई बेवास्ता गरिएको गुरुङको आरोप छ ।

उक्त योजना बन्द हुँदा स्थानीयवासीले घन्टाँै पिठ्यूँमा गाग्री बोकेर पानी ल्याउन बाध्य थिए । जिल्लाका ९० प्रतिशतभन्दा बढी बासिन्दा स्वच्छ खानेपानीको पहुँचमा भएको बताइए पनि गाउँगाउँमा रहेका पुराना योजना मर्मत नभएर अधिकांश ठाउँका बासिन्दा कुवा र आहालको पानी पिउन बाध्य छन् ।

प्रतिक्रिया