‘यो त्यो होइन, किताब चाहिँ पढ्नुपर्छ’

इनेप्लिज २०७२ चैत २७ गते ३:३६ मा प्रकाशित

काठमाडौँ, २७ चैत । भनिन्छ, ‘पुरानो कोट लगाउ र नयाँ पुस्तक किन !’ काठमाडौँको भृकुटीमण्डपमा गत चैत १९ गतेदेखि सुरु भएको ‘बृहत् पुस्तक प्रदर्शनी’मा यस्ता धेरै पुराना कोटधारी नयाँ पुस्तक किनिरहेका देखिन्थे ।

अर्कोतिर कोट नै नलगाउनेहरुको लगाव चाहिँ पुस्तक हेर्न र पढ्नमै थियो । कोटधारीमध्येका एक हुनुहुन्थ्यो, बैतडीका नरेन्द्र धामी । आफ्नो पेसा खुलाउन नचाहेका उहाँले महात्मा गान्धी, नेल्सन मन्डेला, मोहम्मद अब्दुल कलाम, गिरिजाप्रसाद कोइराला, नरेन्द्र मोदीलगायत ठूला राजनीतिज्ञको जीवनीले प्रभावित गरेको बताउनुभयो । महान् तथा चर्चित व्यक्तित्वका जीवनगाथा छान्न व्यस्त रहनुभएका उहाँले भन्नुभयो – “धेरै व्यक्तित्वका जीवनी पढ्न लायक छन् । तीमध्ये एउटा लिएर जान्छु ।”

आगामी वैशाख ७ गतेसम्म चल्ने प्रदर्शनीमा करिब एकसय प्रकाशकका सात हजार शीर्षकका पुस्तक बिक्रीका लागि १५ ‘स्टल’मा राखिएका छन् । प्रदर्शनीमा स्वदेशी–विदेशी, ‘क्लासिकल’ तथा नयाँ–पुराना गरी हरेक विषयवस्तु, शीर्षक र विधाका पुस्तक छन् । त्यसमध्ये आत्मवृत्तान्त, जीवनी, आख्यान, ‘सेल्फ–हेल्प’, स्वास्थ्य र उत्प्रेरणा, तथा आध्यात्मिक पुस्तकको बिक्री बढी भएको प्रदर्शनीका संयोजक पुण्यप्रसाद प्रसाईंले बताउनुभयो । बिहीबार बिहानसम्ममा करिब रु ३० लाख बराबरको बिक्री भएको जानकारी दिँदै उहाँले भन्नुभयो – “यहाँ हरेक उमेर समूह, वर्ग र तप्काका पाठकले आफूले चाहेको पुस्तक पढ्न र किन्न सक्नेछन् ।”

बिक्रेता नवीन कोइराला पछिल्ला दिनमा ओशोका पुस्तक ‘सम्भोगबाट समाधितिर’, ‘फेइलर अफ सक्सेस’लगायत पुस्तक पढ्ने, हेर्ने र किन्नेको सङ्ख्या बढी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “कतिपय अवस्थामा धर्मले एकअर्कामा टकराव पनि ल्याउँछ तर आध्यात्म कुनै एक धर्मभन्दा माथि हुन्छ । त्यही भएर पनि होला अहिले आध्यात्मिक पुस्तकको माग छ ।”

हिन्दूको पवित्र धार्मिक ग्रन्थ ‘गीता’को बिक्रीका लागि बसेका अन्तर्राष्ट्रिय कृष्णभावना मृत सङ्घका प्रतिनिधि रखलराज श्यामदास भने धार्मिक पुस्तकको उपयोगिता नसकिएको बताउँदै भन्नुहुन्छ – “विज्ञानको व्याख्या गर्न चाहने युवा विद्यार्थीले गीता खोजी खोजी पढ्छन् ।”

त्यसो त तसलिमा नसलिनको ‘बिग्रेकी केटी’, हिटलरको आत्मकथा ‘मेरो सङ्घर्ष’, ‘गौतम बुद्धका जीवनदर्शन’, ‘भ्यागुताको भ्रमण’ (बालकथा), विश्वका चर्चित भाषण, कम्प्युटर ज्ञान, अङ्ग्रेजी सजिलो बोलचाल, वास्तुशास्त्र, हास्यव्यङ्ग्य आदिका पुस्तकले प्रदर्शनीमा विविधता झल्काएको छ । अङ्ग्रेजी लेखकका पुस्तकमा लगाव भएको बताउनुभएकी स्नातक अध्ययनरत विद्यार्थी उपमा दवाडी भन्नुहुन्छ – “विदेशी लेखकको पुस्तक पढ्दा अरूको संस्कृति र समग्र विश्वबारे जान्न पाइन्छ ।” स्नातक तहमै अध्ययनरत अर्का विद्यार्थी दानबहादुर भण्डारी भने भिन्न तर्क राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ – “यो त्यो भन्ने होइन किताब चाहिँ पढ्नुपर्छ । जुनसुकै पढे पनि त्यसले ज्ञान दिन्छ ।”

दिनको करिब डेढ सयप्रति बिक्री गरिरहनुभएकी साङ्ग्रिला प्रकाशनकी बिक्रेता अञ्जु दाहाल नयाँ र चर्चामा आएका पुस्तक नै बढी बेचेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’, बाबुराम भट्टराईको ‘अब यस्तो कहिल्यै नहोस्’ आदि पुस्तक दिनको १० देखि २० प्रति बिक्री भइरहेका छन् ।”

प्रदर्शनीमा काँग्रेस केन्द्रीय सदस्यद्वय प्रदीप गिरी र नवीन्द्रराज जोशीलगायत विभिन्न लेखक÷साहित्यकार पुस्तक किन्न आएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया