सयौँ हेक्टर जमिन बगर बनेपछि जनता थातथलो छाड्दै

इनेप्लिज २०७२ चैत २७ गते ३:३२ मा प्रकाशित

नेपालगन्ज, २७ चैत । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको भारतीय भूमिमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले निर्माण गरेको तटबन्धले राप्ती नदीको पानीको प्राकृतिक बहाव रोकिँदा यस जिल्लाका सयौँ हेक्टर जमिन बगर बन्दै गएको छ ।

जिल्लाको पूर्व–दक्षिणको मटेहिया, सोनवर्षा र गङ्गापुरका स्थानीयवासीको करिब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान र बालुवा पटान गरेपछि त्यस गाउँका सयौँ किसान भूमिहीन भएका छन् ।

प्रत्येक वर्ष नदीको बाढीले आक्रान्त बनेका त्यहाँका जनता अहिले आप्mनो थातथलो छाडेर ज्यान जोगाउन गणपति सामुदायिक वनमा टहरा बनाएर बसेका छन् । “हाम्रो गाउँमा सबैजसोको खेती गर्ने जग्गा थियो तर सबै जग्गा बालुवाले पुरिएको छ, खेती हुने जग्गामा नदी बगिरहेको छ” – मटेहियाका तैयब खाँले दुखेसो पोखे । अहिले किसानको हातमा जग्गाको लालपुर्जा त छ तर जग्गा छैन । राप्ती नदीकै कटान र पटानका कारण होलिया गाउँका सयौँ जग्गाधनी भूमिहीन भइसकेका छन् ।

रघुनाथपुर, सिम्राना र छिटैपुरवाका जग्गाधनी भूमिहीन बनेका हुन् । कटानकै कारण ती गाउँका सबै बासिन्दा अहिले पूर्णरूपमा विस्थापित भइसकेका छन् । होलिया क्षेत्रको करिब दुई हजार बिघा जग्गा कटान र पटानमा परेको स्थानीयवासीको भनाइ छ । राप्ती नदीले कटान र पटान गरेको जग्गाको यकिन तथ्याङ्क सरकारी निकायसँग छैन ।

जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर रमेश आचार्यले उत्तर फत्तेपुरदेखि दक्षिणतर्पm भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधसम्म करिब २५ किलोमिटर र तीन किलोमिटर पूर्व–पश्चिम बीचमा पर्ने सबै खेतीयोग्य जग्गा बगरमा परिणत भइसकेको बताउनुभयो ।

दीर्घकालीनरूपमा नियन्त्रण गर्न नसक्ने हो भने यसले विकराल रूप लिनसक्ने उहाँको बुझाइ छ । कटान र डुबानमा पर्दै आएका पीडितले समस्या समाधानका लागि पटकपटक सरकारसँग हारगुहार गरे पनि अहिलेसम्म त्यसको सुनुवाइ हुन सकेको छैन ।

प्रतिक्रिया