अठार वर्षमा पनि खुलेन ट्र्याक

इनेप्लिज २०७२ चैत २५ गते २:०८ मा प्रकाशित

पथरी (मोरङ), २५ चैत । निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्र्याक खोल्ने काम अझै पूरा भएको छैन ।

जग्गाको मुआब्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका अनुसार विराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको हो ।

चक्रपथ विस्तारका क्रममा दिइनुपर्ने मुआब्जामा विवाद र स्रोतसमेत नहुँदा अझै दुई किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । मुआब्जाको माग गर्दै स्थानीयवासीले काम रोकेपछि झोराहाट खण्डको दुई किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख किशोरलाल महाजुले बताउनुभयो ।

चक्रपथले २० घर सुकुम्वासीको घर भेट्छ । ती घरधनीलाई मुआब्जाका रुपमा घडेरी उपलब्ध नगराए उनीहरुले बाटोका लागि विस्थापित नहुने पीडित अखिल बराइलीले जानकारी दिनुभयो ।

चक्रपथको केन्द्रविन्दुबाट १०० मिटर दायाँबायाँको क्षेत्रमा घडेरी बनाउने अवधारणा ल्याइएको छ । निर्माणको यस अवधिमा मुआब्जाको विवादले काममा ढिलाइ भएपनि २० किलोमिटरमा भने ग्राभेल भइसकेको छ । चक्रपथका लागि मात्रै २११ बिघा जग्गा आवश्यक पर्छ । यो सबै जग्गा निःशुल्क रुपमा अधिग्रहणको योजना रहेको छ ।

चक्रपथले मोरङका कटहरी, झोराहाट, लखन्तरी, टङ्कीसिनवारी, हात्तीमुडा, भाथिगञ्जसहित विराटनगर उपमहानगरपालिकाका विभिन्न वडा छुनेछ । ३४ मिटर चौडाइ रहेको चक्रपथको सहायक मार्ग आठदेखि १० मिटरका हुनेछन् ।

चक्रपथका लागि सिङ्घिया नदीमा भने दुईवटा ठूला पुल बनाउनुपर्नेछ । चक्रपथ निर्माणको ढिलाइले स्थानीय अगुवा भने निराश भएको विजय विश्वास बताउनुहुन्छ । ४२ किलोमिटर लम्बाइ रहेको चक्रपथको सम्पूर्ण निर्माण भइसक्दा करिब पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म चक्रपथमा करिब १० करोड रुपैयाँ खर्च भइसकेको छ ।

प्रतिक्रिया