बालकलाई ब्रेन ट्युमर, सहयोगका लागि आग्रह

इनेप्लिज २०७२ चैत १८ गते १:४८ मा प्रकाशित

Picकाँकडभिट्टा (झापा), १८ चैत । ब्रेन ट्युमरको शल्यक्रिया गर्न उपचार खर्चको अभावमा यहाँका एक बालक जीवनमरणको दोसाँधमा रहेका छन् ।

ब्रेन ट्युमरबाट पीडित शान्तिनगर–१ अमरबस्तीका १२ वर्षीय विश्वराज केरुङलाई बचाई सहयोग गरी दिन उनका बुबा लक्ष्मीप्रसाद केरुङले सबैसँग आग्रह गरेका छन् । उनका अनुसार तीन महिनाअघि सामान्य उल्टी भएपछि नजिकैको क्लिनिकमा देखाइएको र पछि टाउको दुख्ने समस्या थपिएकाले बिर्तामोडका केही अस्पतालमा देखाइएको थियो ।

बिर्तामोडको एक अस्पतालले विराटनगरस्थित न्युरो अस्पतालमा देखाउन सुझाव दिएपछि त्यहाँ जाँच गर्दा ब्रेनट्युमर पत्ता लागेको विश्वराजका बाबुको भनाइ छ । सामान्य खेती किसानी गर्दै आएका केरुङ परिवारले हालसम्म उपचारमा एक लाख ५० हजारभन्दा बढी खर्च भइसकेको र काठमाडौँस्थित टिचिङ अस्पतालले उपचारमा ६ लाख खर्च लाग्ने बताएपछि उपचारमा समस्या आएको हो ।

छोराको उपचार खर्च जुटाउन अहिले लक्ष्मीप्रसाद सहयोग खोज्दै विभिन्न ठाउँमा पुगिरहेका छन् । गणेश माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालक मिहेनती र जेहेन्दार रहेको विद्यालयले जनाएको छ । बालकको उपचारमा छिमेकी चन्द्र धमाला र कुलप्रसाद रिजाल पनि लागि परेका छन् । अस्पतालले पनि जति चाँडो छिटो शल्यक्रिया गर्नुपर्ने बताएपछि रकम जुटाउन लागिपरेको चन्द्र धमाला बताउँछन् । उपचारका लागि यतिका रकम आवश्यक परेपछि देश तथा विदेशमा रहेका दाजुभाइसँग सहयोग गरिदिन अनुरोध गरिएको धमालाले बताउनुभयो ।

सहयोगका लागि नेपाल बैङ्क लिमिटेड शाखा बुधवारेमा लक्ष्मीप्रसाद केरुङको नाममा खोलिएको खाता नं. १२५०००००७००८ मा स्वेच्छिक रकम जम्मा गरी सहयोग गर्न सकिने धमालाले बताउनुभयो ।

प्रतिक्रिया