नेताहरूको भरोसा नगर्न कालीबाबाको सल्लाह

इनेप्लिज २०७२ चैत १७ गते १७:४१ मा प्रकाशित

कालीबाबा काठमाडौंमा 1

देवर्षि । १७ चैत्र, काठमाडौं । बहुप्रसिद्धि कमाउनु भएका कालीबाबा मङ्गलवार भारतको दिल्लीबाट काठमाडौं आउनु भएको छ । हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि विभिन्न अनुष्ठानलगायतका अभियान सञ्चालन गरी समय समयमा चर्चामा आउने गर्नु भएको कालीबाबा आकस्मिक रूपमा काठमाडौं आउनुको पछाडि कुनै विशेष रहस्य हुनसक्ने लख पनि मान्छेहरूले काटेका छन् ।

कालीबाबा काठमाडौंमा 2

आफ्नो यो भ्रमणको मुख्यकारण काठमाडौंको गागलफेदिमा निर्माण हुन लागेको कालिका मन्दिर एवम् आश्रमको लागि भूमिपूजा रहेको बाबाले न्यूज टिमलाई बताउनु भयो । जुन कार्य मङ्गलवार नै सम्पन्न भएको बताइएको छ ।

त्यस्तै पूर्वसेनापति गरुण सम्शेर राणा विरामी रहनु भएकोमा उहाँलाई भेट्नु पनि उहाँको आगमनको अर्को कारण रहेको बाबाले पत्रकारहरूसँगको भेटमा बताउनु भयो । साथै पशुपतिनाथको दर्शन, हिन्दूराष्ट्र स्थापना अभियानको पनि केही काम भएको र सर्वसाधारण भक्तजनसँगको भेटघाट पनि भ्रमणको उद्देश्य रहेको उहाँको भनाइ थियो ।

कालीबाबा काठमाडौंमा 3

काठमाडौंको कमलपोखरी स्थित अग्रवाल भवनमा भएको पत्रकार भेटघाटमा पत्रकारहरूबाट राजतन्त्रको स्थापनाको बारेमा सोधिएको प्रश्नको उत्तरमा बाबाले राजालाई स्थापना गर्ने जनताले हो, जोगी सन्यासीले त धर्मलाई स्थापना गर्ने हो र आफ्नो हिन्दूराष्ट्र स्थापनाको विषयमा दृढ विश्वास रहेको बताउनु भएको थियो ।

राजनीतिक क्षेत्रका नेताहरूको विश्वास नभएको र उनीहरूबाट देशको हितको पक्षमा काम नहुने अभिव्यक्ति दिँदै अब देश बचाउन, धर्म बचाउन जनता नै जाग्न पर्ने र त्यसको लागि जनता एकजुट हुनपर्ने बेला आएको तर्फ बाबाको जोड थियो ।

पत्रकार भेटघाटको संयोजनकारी भूमिका निर्वाह गर्नु भएका छायाचन्द्र भण्डारीका अनुसार बाबा बिहीवार मध्यान्ह दिल्ली प्रस्थान गर्नु हुनेछ ।

धर्मनिरपेक्षताको नाममा आएको डलर तर्फ लक्षित गर्दै बाबाले भन्नु भयो ‘हेर्नुहोला नेताहरूले कुकर्म गरी आर्जन गरेको पैसाले कुनै पनि काम नदिने र अलपत्र पर्ने छ’ । धर्मनिरपेक्षताका पक्षधरहरू गलिसकेका छन् तर पनि उनीहरूको कुनै विश्वास छैन त्यसैले हिन्दूराष्ट्र स्थापना गर्न धार्मिक क्षेत्र एकजुट हुन जरुरी छ, बाबाको भनाइ थियो ।

दर्शन भेट्को लागि राजनीतिक व्यक्तिहरू कति आए भन्ने प्रश्नमा ‘यो आफ्नो राजनीतिक भेट्घाट नभएर जोगीनीतिको भेटघाट भएको हुनाले राजनीतिक क्षेत्रका र अन्य सबैतिरका भक्तजनसँग आफ्नो भेट्घाट भएको बाबाको भनाइ थियो । पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, राप्रपाका सहअध्यक्ष प्रकाश चन्द्र लोहनी, नेपाल सरकारका वर्तमान राज्यमन्त्री कुन्तीकुमारी शाही लगायतका राजनीतिक व्यक्तित्त्वहरूले भेट् गरेको स्रोतले बताएको छ । भने नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले पनि बाबालाई भेट् गरेको बुझिएको छ । साथै विश्व हिन्दू महासंघका कार्यवाहक सभापति संहिता शास्त्री अर्जुनप्रसाद बास्तोला, शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक दीपक सुवेदीलगायतका धार्मिक प्रतिनिधिहरूसँग विशेष भेटघाट भएको बुझिएको छ । यो भ्रमणमा बाबाले सञ्चारक्षेत्रका प्रतिनिधिलाई विशेष महत्त्वको साथमा भेट दिएर आफ्नो धारणा

राख्नु भएको पत्रकार समेत रहेका बाबाका अनन्यभक्त छायाचन्द्र भण्डारीले न्यूजटिमलाई बताएका छन् ।

प्रतिक्रिया