संविधान कार्यान्वयनमा सहकार्य निर्विकल्प: मन्त्री खरेल

इनेप्लिज २०७२ चैत १६ गते ८:३६ मा प्रकाशित

Agni-Kharelदमक, १६ चैत । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले संविधान निर्माणमा सबै दलले देखाएको सहकार्य र एकता यसको कार्यान्वयनमा पनि आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्री खरेलले जारी नयाँ संविधान जनताको उपलब्धि भएकाले यसको प्रभावकारी कार्यान्वयन गर्न दलबीच सहकार्य जरुरी भएको औँल्याउनुभयो ।

आज झापाको दमकमा युवा सङ्घ झापा क्षेत्र नम्बर ७ ले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्नुहुँदै मन्त्री खरेलले नेपाली काँग्रेस पनि यही सरकारमा आएर संविधान कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,– “काँग्रेस प्रतिपक्षभन्दा सरकारमा नै सहभागी भएर संविधान कार्यान्वयनमा सामेल हुनुपर्छ ।”

मन्त्री खरेलले भारतसँग भएको केही असमझदारी समाप्त भइसकेको र सम्बन्ध सुधारोन्मुख रहेकाले अब नेपालीको असहज जनजीवन सामान्य बन्दै जानेसमेत ठोकुवा गर्नुभयो ।

प्रधानमन्त्रीको भारत र चीन भ्रमण आपसी समझदारीका लागि फलदायी रहेको बताउनुहँुदै उहाँले भ्रमणका विषयमा अनावश्यक टीका टिप्पणी गर्नुको कुनै तुक छैन ।

एमालेका पोलिटब्युरोसमेत रहनुभएका उहाँले भारत र चीनसँग भएका केही महत्वपूर्ण सन्धि र सम्झौताले अब नेपालको विकासमा टेवा पुग्नेछ भन्नुभयो ।

एक फरक प्रसङ्गमा उहाँले नेकपा (एमाले) अबको निर्वाचनमा सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित हुने दाबी गर्नुभएको थियो ।

प्रतिक्रिया