गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एन आर एन ए ) अष्ट्रियाको अध्यक्षमा धर्मराज खतिवडा विजयी भएका छन् । मार्च २७ आईतवार सम्पन्न सो निर्वाचनमा अष्ट्रियाको भियना र साल्सवर्ग दुई निर्वाचन केन्द्रवाट जम्मा २९८ मत खसेको थियो । त्रिपक्षिय भिडन्त रहेको सभापती पदमा खतिवडा १२२ मत ल्याएर वियजी भएका थिए भने अन्य प्रतिश्पर्धी ध्रुव पौडेलले ११४ मत र मुक्त गुरूङले ६० मत ल्याएका थिए ।
त्यसैगरी उपसभापतीमा कमल थापा १७४ मत र नेत्र बहादुर खड्का १६० मत ल्याएर विजयी भए । त्यस्तै महासचिवमा गोपाल बाबु श्रेष्ठले १४० मत, सचिवमा यम नारायण मानन्धरले सवै उमेद्वारले भन्दा वढी १८७ मत, कोषाध्यक्षमा विनोद खड्काले १४७ मत ल्याएर विजयी भए भने ६ जना सदस्यहरू निर्विरोध विजयी भएका थिए । निर्विरोध विजयी हुने सदस्यहरूमा लोकवहादुर श्रेष्ट, अमृत पौडेल,लक्ष्मण देवान , गोपिकृष्ण भट्टराई, विनोद चौलागाई र किरणलाल श्रेष्ट रहेका छन् । तोकिएको दुवै निर्वाचन केन्द्रमा अत्यन्तै शान्त तथा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचन समितीमा रहेका डा. दिपक ढुंगाना, बुद्दी व.तामांग तथा दविन लामा गुरुङ , एन आर एन युरोप संयोजक श्री कुल आचार्य र भोलेन्टियरहरू शन्तोष भेटुवाल, दिपक मल्ल, केयरसिङ लामा,नारायण दत्त रिजाल, वावु विमली र प्रभु श्रेष्ट लगायतको टिम निर्वाचन सम्पन्न गराउन खटेको थियो ।
तोकिएको समयमा नै सम्पन्न निर्वाचन पश्चात सोही स्थलमै मतगणना गरिएको थियो । भियना र साल्सवर्ग केन्द्रमा एकैचोटी मतगणना भएको थियो । एकातिर मतपरिणामको पर्खाईमा उपस्थितहरू निर्वाचन हलभित्र खचाखच देखिन्थे भने अर्कोतिर निर्वाचन समितीले मतगणना गर्दै विच-विचमा मतपरिणाम सुनारहेको दृष्य अत्यन्तै रोचकपूर्ण देखिन्थ्यो ।
मतपरिणाम सुनेर उपस्थितहरूले आफुले चुनेको मान्छेको मत अगाडी आउदा उत्साहका साथ तालीले साथ दिईरहेका थिए । करिव ६ वजेतिर सम्पन्न मतपरिणामको घोषणापश्चात निर्वाचितहरूलाई युरोप संयोजक कुल आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
प्रतिक्रिया