वैशाखको दोस्रो साता ‘जे’ टु ‘जे सम्मेलन हुँदै

इनेप्लिज २०७२ चैत १५ गते १२:४० मा प्रकाशित

काठमाडौँ, १५ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन प्रवद्र्धनका लागि ‘जर्नालिस्ट टु जर्नालिस्ट’ (‘जे’ टु ‘जे’) सम्मेलन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज पर्यटन पत्रकार सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको नयाँ अवधारणाको कार्यक्रम ‘जे’ टु ‘जे’ वैशाखको दोस्रो साता गर्न सुझाव दिनुभयो ।

पोखरेलले भन्नुभयो – “सरकारले भूकम्पको सम्झनामा वैशाख १२ गते विविध कार्यक्रम गर्दैछ । त्यसमा विदेशी पत्रकार र पर्यटकको उपस्थिति रहने हुँदा सोही सन्दर्भमा सम्मेलन गर्न उपयुक्त हुन्छ । वैशाख ११ गते एकदिने सम्मेलन र १२ गते सरकारकै साझेदारीमा घोषणापत्र जारी गर्ने गरी तयारी गर्नुस् ।”

एक फरक प्रसङ्गमा मन्त्री पोखरेलले जेठ ६, ७ र ८ गते हुन गइरहेको २५६०औँ बुद्ध जयन्तीलाई समेत ‘जे’ टु ‘जे’ सम्मेलनले सकारात्मक सन्देश दिने र यी दुई एकअर्काका परिपूरक कार्यक्रम बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष देवी पन्तले भूकम्प र नाकाबन्दीपछिको वास्तविक सन्देश अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दिन ‘जे’ टु ‘जे’ सम्मेलन प्रभावकारी हुने बताउनुभयो ।

पाँचदिने ‘जे’ टु ‘जे’ सम्मेलनको आयोजना गर्ने गरी तयारी थालेको सङ्घले दुई रात तीन दिन भने लुम्बिनी भ्रमणका लागि योजना बनाएको ‘जे’ टु ‘जे’ सम्मेलन आयोजना उपसमितिका संयोजक शिव श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँको एकदिने सम्मेलन, अर्को दिन ‘जे’ टु ‘जे’ घोषणापत्र जारी हुने र बाँकी तीन दिन लुम्बिनी अवलोकन भ्रमण हुने गरी कार्यक्रमको तयारी गरिएको छ ।

प्रतिक्रिया