खेलकुदमा केही पनि छैन, अनि के आशा गर्ने ?

इनेप्लिज २०७२ चैत १३ गते १४:४१ मा प्रकाशित

12718319_1017855278301432_213930224013235684_n

कुनै समय काठमाडौंको मैतीदेवीमा कार्यालय नै खोलेर नाटक खेलाउँथे केशवकुमार विष्ट । ‘उज्यालो अभिव्यक्ति’मा रेखा थापालाई अभिनय समेत गराएका थिए विष्टले । किशोरावयमा बलिदानी नामक चलचित्रमा अभिनयसमेत गरेका उनै विष्ट हाल राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव छन् । नेपालको खेलकुद क्षेत्र सधैं विवादमा पर्दै आएको छ । परिषद्मा नियुक्तिको समयमा निकै रस्साकस्सी र मुद्धा मामिला झेलेका उनै विष्टसँग दैनिक नेपालका हरि गजुरेलले गरेको कुराकानी– राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त भएपछि यहाँले के महत्वपूर्ण काम गर्नुभयो ? अवधी सकिएका खेलकुद विकास समितिको पुनर्बहाली/पुनर्नियुक्ति गर्ने काम ७५ वटै जिल्ला र पाँचै विकास क्षेत्रमा सम्पन्न भइसकेको छ । यही बीचमा सातौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यौं । जिल्ला छनोटका काम सम्पन्न भयो । तर, तराई÷मधेश आन्दोलन र बजेटको अभावका कारण सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय र राष्ट्रिय छनोटको काम पूरा हुन सकेन । तथापी त्यसका पूर्वाधारका काम भइरहेका छन् । नौ वर्षदेखि बढुवा रोकिएका कर्मचारीहरुलाई स्थायी गर्ने काम भइसकेको छ । ‘स्पोर्टर्स हस्पिटल’को स्थापना गर्दैछौं । यही बीचमा स्वेत पत्र जारी ग-यौं । यसले खेलकुदको अवस्था चित्रण गरेको छ । कस्तो रहेछ त खेलकुदको अवस्था ? विगतमा खेलकुदको क्षेत्रमा भएका अनियमितताका विषयलाई उजागर गरेको छ । कर्मचारीतन्त्रमा ढिलासुस्ती, अनियमितता, भेदभावको अवस्थालाई समेत हामीले त्यसमा समावेश गरेका छौं । सबैभन्दा ठूला कुरा खेलकुदभित्र जुन खालको बेमल देखिन्यो अर्थात् विभिन्न खेलकुद संघभित्र फुट देखिएको थियो, त्यसलाई न्युनीकरण गर्न प्रयत्न जारी छ । क्रिकेट एसोसियन अफ नेपाल (क्यान), फुटवल, ओलम्पिक कमिटीभित्र देखिएका वेमेललाई हल गरिसकेका छौं । विगतका चार वर्षमा कतिपय संघभित्र अनेक वेमेल, अन्तर्विरोध देखा परे । मनोमानी ढंगले सञ्चालन भएका संघहरुबीच एकताको प्रक्रिया सुरु भइसकेको छ । अहिले भेदभावपूर्ण व्यवहारको अन्त्य भएको छ । कर्मचारीबीच पारदर्शीताको सुरुवात भएको छ । सबै केन्द्रका बीच समन्वय सुरु भएको छ । बाह्रौं सागको नतिजालाई मध्यनजर राख्दै नेपालमा तेह्रौं सागको आयोजनाको तयारी गरिरहेका छौं । हाल राखेपमा १ हजार १ सय ४२ कर्मचारी बहाल छन् । ती कर्मचारीहरुलाई व्यापक प्रशासन सुधार सुरु गरिसकेका छौं । चार वटा ठूला प्रोजेक्टका सम्झौता भइसकेको छ । कस्ता हुन् ती प्रोजेक्ट ? त्रिभुवन विश्वविद्यालयसँग सम्झौता ग¥यौं । ५० रोपनी जग्गामा ५० करोड बजेट, पाँच हजार दर्शक क्षमता भएको कर्भड हलको स्थापना गरिँदैछ । सार्क खेलकुदलाई मध्यनजर राख्दै मल्टिप्रपोजको कर्वड हलको डिपिआर तयार गर्ने काम भइरहेको छ । ललितपुरको सातदोवाटोमा रहेको नेपाल स्वीमिङ संघसँग सम्झौता गरी ‘हिटिङ सिष्टम्’ अर्थात् बाह्रै महिना चल्ने स्वीमिङ हल निर्माण प्रक्रिया सुरु भएको छ । भूकम्पले क्षतिग्रस्त भएसँगै दशरथ रंगशालाको तत्कालको विकल्पको रुपमा ललितपुरको च्यासल फुटवल ग्राउण्डलाई अगाडि सारिएको छ । त्यसको स्तरोन्नती गर्ने तयारीमा छौं । अन्तर्राष्ट्रिय स्तरको मल्टिप्रपोज कर्वड हल इन्द्रायणी भन्ने स्थानमा बनाउने तयारीमा गरिरहेका छौं । आठ वटा एकेडेमी निर्माण गर्ने तयारीमा छौं । जुडो, उसु, ब्याडमिन्टन, भलिवल, वास्केटवललगायतका खेलका लागि एकेडेमी निर्माण गर्ने प्रक्रियामा छौं । खेलकुद क्षेत्रको सुधारका लागि तपाईंका आगामी योजना के–के छन् ? हामीले चार वर्षे कार्यक्रम तयार गर्दैछौं । खेल जागरण अभियान सुरु गर्दैछौं । आम मानिसलाई खेलकुदका बारेमा बुझाउनु पहिलो आवश्यकता रहेको हामीले महशुस गरिरहेका छौं । बजेट प्राप्त हुने वितिकै हामी काम सुरु गर्ने छौं । खेल हरेक मान्छेको संस्कृति, संस्कार र जीवनशैली बन्नु आवश्यक छ । खेल प्रतिभाको खोजी सुरु अभियान गर्दछौं । पर पुग्नै पर्दैन छिमेकी मुलुक भारतलाई नै हेरौं न उसले किन मेडल जित्दछ भने करोडौं मान्छेको बीचबाट प्रतिभा छनोट गर्दछ । हामी चार पाँच हजार माझ पनि पुग्दैनौ । सकेसम्म नाता गोता, शहर बजारमा बस्नेबाट मात्र हामी खेलाडी खोजिरहेका छौं । तालिम पनि परम्परागत भए । तत्काल एक वर्षमा प्रतिफल नदेला तर यो क्षेत्रमा गरिएको लगानीको प्रतिफल पाँच वर्ष पछाडि त अवश्य आउँछ । त्यस्तै नयाँ टेक्नोलोजीसँग अपडेट नभएका कोचहरुको संख्या ठूलो छ हामीकहाँ । यस्ता प्रशिक्षकका लागि ‘गोल्डन ह्यान्डचेक’ कार्यक्रम ल्याएर नयाँ कोच ल्याउने योजना बनाइरहेका छौं । यस्ता कोचबाट धेरै आशा गर्ने ठाउँ पनि छैन । अब १० शैयाको स्पोर्टसर्् अस्पताल, मेडल प्राप्त गरेका खेलाडीलाई कम्तिमा नियमित मासिक पेन्सनको व्यवस्था गर्ने लगायतका कार्ययोजना छन् । नेपालमा खेलेर बाँच्न सक्ने अवस्था छैन, म्याच फिक्सिङ खेलाडीका लागि वाध्यता हो भन्ने गरिन्छ नि ? म्याच फिक्सिङमा उनीहरुले पाउने भनेको सिमित रकम मात्र हो । राज्यले नै त्यसरी रकम दिने हो भने यस्तो प्रवृत्ति अन्त्य हुन्छ । त्यसकै लागि बंगबन्धु गोल्डकप जितेर आएका खेलाडीका लागि हामीले दुई लाख रुपैयाँ दिने निर्णय गरेका हौं । खेलाडीलाई हामीले नै सेलिव्रेटी बनाइदिएका छौं । उसका आफ्ना नीजि आकांक्षा हुन्छन्, राम्रा लुगा लगाउनु प-यो, कार चढ्नुप-यो, गर्लफ्रेण्डसँग डेटिङ जानुप-यो । यी इच्छा पूरा नभएपछि उसको मन बहकिन्छ । एकातिर सेलिब्रेटी बनाइदिएका छौं, ती इच्छा पूरा नभएपछि बहकिनु स्वभाविकै हो । मात्र के हो भने खेलाडीलाई पचास हजारको दरमा बेचिदिए । बाँकी ठूला/ठालुहरुले नै खाइदिए । यस प्रकारको म्याच फिक्सिङ हुन नदिनका लागि पुरस्कारको व्यवस्था पनि गर्नु आवश्यक छ । स्वास्थ्य जीवन विमाको कुरा, पूर्वाधारको ठूलो विकास गर्नु पहिलो आवश्यकता छ । अहिल खेलकुदको अवस्था लज्जाजनक छ । एउटा राम्रो कर्भड हल, रंगशालासमेत छैन अनि हामी के आशा मात्रै गर्ने ? एउटा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने तयारी गर्दैछौं । कार्यालयको भवन भत्किएको अवस्था छ । खेलकुदको विकासका लागि गुरुयोजना नै छैन । समयानुकुल नीति छैन । हामीसँग केही छैन । न मास्टर्स प्लान छ, न पूर्वाधार, न योजना नै छ न त इच्छाशक्ति नै । यी सबैलाई सुधारेर अगाडि वढ्नु आवश्यक छ । राखेपभित्र के कस्ता विकृति–विसंगति रहेछन् त ? एकता र विश्वासको वातावरण छैन । पहिला–पहिला नेतृत्व गर्नेहरुले नै उब्जाइदिएको चिज हो यो । पारदर्शीता छैन । अनुशासनको वातावरण पनि देखिँदैन । खेलाडीमा आर्मीको जस्तो अनुशासन हुनुपर्दछ । यी सबैलाई अगाडि लैजाने भनेको नीतिले हो । नीति नै नभएपछि यस्ता खालको विकृति देखिने भइनै हाल्यो । अनियमितताका कुरा छन । ती धेरै कमी भइसकेको छ, न्यूनीकरण गर्न प्रयासमा छौं । धेरै वटा क्षेत्र व्यापक छन्, सम्भावना अत्यन्त बोकेको, राज्यले अत्यन्तै गौरव गर्नुपर्ने क्षेत्र हो खेलकुद । तर, राज्यको प्राथमितामा परेका छैनन् । अहिले दुई अर्बको हाराहारीमा मात्र बजेट छ । यो कम्तिमा पनि १० अर्ब पुग्नुपर्दछ । गणेश थापा प्रकरणमा के भइरहेको छ ? तत्कालिन एन्फाका अध्यक्षलाई उसकै किमिटीले कारबाही गरेको छ । कतिपय मुद्धा अख्तियार, अदालतमा विचाराधीन पनि छन् । एन्फा पारदर्शी हुनुपर्दछ । अहिले एन्फा नेतृत्वविहीन छ । छिट्टै पदपूर्ति गर्छौं । हामीलाई छानविन समितिले रिपोर्ट दिइसकेको छ । सिंगो एन्फाकै निर्वाचन गर्ने हो कि भन्ने सोचमा छौं । जे होस फुटवलबाट ठूलो उत्साह आएको छ । फुटवलभित्र जे जस्ता बेथिति देखिएका थिए त्यो हट्छ । क्रिकेटमा पनि अदालतको फैसला पर्खिरहेका छौं । अदलतको निर्णय हाम्रो पक्ष अर्थात् सरकारकै पक्षमा आँउछ भन्नेमा विश्वस्त छु । त्यो निर्णय आएसँगै क्रिकेटले गति लिन्छ । फुटबल र क्रिकेट भनेको अव मास गेम हुन् । यीनीहरु लाखौं युवाको आस्थाका क्षेत्र हुन् ।

प्रतिक्रिया