संविधानले सबैको भावना समेटेको छ: नेत्री कोइराला

इनेप्लिज २०७२ चैत १३ गते १४:०७ मा प्रकाशित

Sujata-Koiralaकाठमाडौँ, १३ चैत । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकलाई अब आर्थिक क्रान्तिको बाटोमा अगाडि लैजानुपर्ने बताउनुभएको छ ।

स्वतन्त्र जागृत युवा क्लवले आज विशम्भरा गाउँमा आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा समानुपातिक, समावेशी संविधान जारी भइरहेको सन्दर्भमा अबको लक्ष्य भनेको आर्थिक क्रान्ति हुनुपर्ने बताउनुभयो ।

विपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतका नेताले प्रजातन्त्र स्थापनामा ठूलो भूमिका खेलेको भन्दै नेत्री कोइरालाले यसलाई सबै राजनीतिक दल मिलेर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र, प्रजातन्त्र र सङ्घीयतालाई कसैले चलाउन सक्दैन ।”

काठमाडौँ क्षेत्र नं २ का सांसद् दीपक कुइँकेलले नयाँ नेपाल बनाउन युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेत्री कोइरालाले क्लबबाट निर्माण गरिएको ११ घर भूकम्पपीडितलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया