दाङ, १२ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताले चाँहे संविधानको जुनसुकै व्यवस्था पनि परिवर्तन हुने बताउनुभएको छ । वाइसिएलको तेस्रो जिल्ला सम्मेलनको आज घोराहीमा उद्घाटन गर्दै उहाँले आफ्ना माग पूरा गराउन सडकमा गएर हुँदैन, वार्ता र छलफलबाट अगाडि बढ्नुपर्छ भन्नुभयो । संविधान कार्यान्वयन अहिलेको मुख्य कार्य भएको भन्दै उहाँले संविधानले व्यवस्था गरेका सुविधाहरुको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो- ‘कसैले राजा ल्याउन चाहन्छ, कसैले यो व्यवस्थालाई फालेर समाजवादी गणतन्त्र ल्याउन चाहन्छ वा जनवादी गणतन्त्र ल्याउन चाहन्छ भने त्यो संविधानले नै व्यवस्था गरेको छ । जनताले चाँहेमा यी सबै सुविधा प्रयोग गरेर संविधानबाटै ल्याउन सकिन्छ ।’ संविधान शतप्रतिशत पूर्ण नभए पनि अपूरा विषयवस्तुलाई छलफल र सहमतिका आधारमा अगाडि बढाउनुपर्ने भन्दै मन्त्री बस्नेतले वाइसिएलका नेता र कार्यकर्तालाई संविधानको कार्यान्वयन, सामाजिक विकास र सुशासनका क्षेत्रमा सक्रिय बन्न निर्देशन पनि दिनुभयो ।
प्रतिक्रिया