बैंककमा नेपाल महोत्सव हुने

इनेप्लिज २०७२ चैत ९ गते १३:५५ मा प्रकाशित

काठमाडौँ, ९ चैत । थाइल्याण्डस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको आयोजनामा आगामी वैशाख ९ देखि १३ गतेसम्म बैंककको सेन्ट्रल वल्र्डमा नेपाल महोत्सव हुने भएको छ ।

महोत्सवका अवसरमा नेपाल–थाइल्याण्डबीचको पर्यटन र वाणिज्य साझेदारी बढाउने, नेपालको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई संसारमा चिनाउने तथा विनासकारी ‘गोरखा भूकम्प’मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्ज्वलन गरिने त्यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष खगेन्द्रराज ढकालले बताउनुभयो ।

भूकम्पपछि थाइल्याण्डले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्न पनि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।

महोत्सवको अन्तिम दिन भूकम्पमा परी मृत्युवरण गरेका व्यक्तिको स्मरणमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली र थाई तथा विदेशी नगारिक सेन्ट्रल वल्र्डको यार्डमा भेला हुने थाइल्याडका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताउनुभयो । अप्ठ्यारो अवस्थामा पनि थाइल्याण्डले नेपाललाई गरेको सहयोगप्रति उहाँले नेपाल सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा राजदूत अधिकारीले पर्यटन, व्यापार र लगानीका माध्यमबाट नेपाल र थाइल्याण्डबीचको द्विपक्षीय सहयोग आदानप्रदानलाई वृद्धि गर्नु महोत्सवको उद्देश्य रहेको बताउनुभयो ।

थाइ–नेपाल चेम्बर अफ कमर्शका महासचिव सुथाम साचाफिमुखले महोत्सवलाई सफल बनाउन थाइ चेम्बरले सहयोग गर्ने बताउनुभयो ।

भिक्षु डा अनिल शाक्यले थाइल्याण्डले नेपाललाई गरेको सहयोग सराहनीय रहेको उल्लेख गर्दै महोत्सवले दुई देशको अध्यात्मिक एवम् वाणिज्य साझेदारीमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गर्नुभयो ।

सीपीएन समूहका उपाध्यक्ष तथा एभरेष्ट बेसक्याम्पका लेखक क्रिट कुन्प्लिनले बौद्ध दर्शनको अध्ययन, अर्थपूर्ण जीउने शैली र सुन्दर हिमाली क्षेत्रको अवलोकनका लागि नेपाल भ्रमण गर्न आग्रह गर्दै सबै थाइ समुदायलाई नेपाल महोत्सवमा सहभागी हुन आह्वान गर्नुभयो ।

महोत्सवमा नेपालको पर्यटन तथा संस्कृति झल्कने वस्तु, उपहार सामग्री, खानाका परिकार, नेपाली हस्तकलाका सामग्री, पदयात्रा, यात्रा गन्तव्य र श्रृङ्गारिक वस्तु रहनुका साथै ‘विजनेस टु विजनेस’ बैठक हुनेछन् ।

विश्वको छैटाँै ठूलो र तथा थाइल्याण्डको सबैभन्दा ठूलो व्यापारिक केन्द्र सेन्ट्रल वल्र्डमा आयोजना हुने सो महोत्सव पाँच दिनसम्म चल्नेछ । महोत्सव २० लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया