ओलाङ्चुङ्गोलाको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कर्मचारीविहीन

इनेप्लिज २०७२ चैत ९ गते ८:३९ मा प्रकाशित

Taplejung_district_locationताप्लेजुङ, ९ चैत । यस जिल्लाको ओलाङ्चुङ्गोला सीमा नाकामा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कर्मचारीविहीन छ ।

एक अधिकृत, एक नायब सुब्बा, एक खरिदार, एक सहलेखापाल, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी गरी कुल सात जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा वर्षौंदेखि कर्मचारी नै नपुगेपछि कर्मचारीविहीन भएको हो ।

गत वर्ष नै कार्यालय अधिकृत तोकिएका भगीमान मादेन अहिले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा रहनुभएको छ । त्यसअघिसमेत सो कार्यालयमा लामो समयदेखि कुनै कर्मचारी नपुगेको बताइएको छ । वर्षौंदेखि कर्मचारी नपुगेको सो कार्यालयको अवस्थाका बारेमा अधिकृत मादेन नै अनभिज्ञ हुनुहुन्छ । आफूलाई अधिकृत तोकिएदेखि नै सो कार्यालयमा आफू नपुगेको मादेनले बताउनुभयो ।

यता सोही कार्यालयकै दरबन्दीमा रहेका नायब सुब्बासमेत गृहमन्त्रालयमा कार्यरत रहेको मादेनले बताउनुभयो । खरिदार र कम्प्युटर अपरेटर तोकिएको छैन भने दुई कार्यालय सहयोगी हाल जिल्ला प्रशासन कार्यालयमै कार्यरत रहेका छन् ।

सीमा सुरक्षाका लागि स्थापना गरिएको कार्यालय नै कर्मचारीविहीन भएर सो नाकामा बर्सेनि अवैध कारोबार बढ्दै गएको स्थानीयवासीले बताएका छन् । अर्कातिर सीमा स्तम्भका बारेमा समेत कुनै अत्तोपत्तो छैन । वर्षौंदेखि सीमा प्रशासन कार्यालयमा कर्मचारी नहुनु दुःखद भएको जिल्लावासीको गुनासो छ ।

मादेनले आफूलाई अधिकृत तोकिए पनि सो कार्यालय व्यवस्थापनमा जिल्ला प्रशासनले कुनै चासो नदेखाएकाले आफू जान नसकेको बताउनुभयो । पटक पटक आफूले कार्यालय व्यवस्थापन गरिदिनुप¥यो भनेर प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे पनि कुनै चासो नदेखाएकोे मादेनको भनाइ छ ।

यता भर्खरै मात्रै सरुवा भई यस जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले भने आफूले कार्यालयको अवस्थाबारे बुझेर कर्मचारीलाई सकेसम्म चाँडो पठाइने बताउनुभयो ।

प्रतिक्रिया