नवजीवन सहकारीले १५ प्रतिशत लाभांश दिने

इनेप्लिज २०७२ चैत ५ गते १:५४ मा प्रकाशित

धनगढी, ५ चैत । देशको सबैभन्दा पुरानो नवजीवन सहकारी संस्था लिमिटेड धनगढीले आफ्ना सबै १४ हजार ३१६ सेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

हालै भएको संस्थाको वार्षिक साधारणसभाले गरेको निर्णयअनुसार लाभांश वितरण गर्न लागिएको संस्थाका निमित्त महाप्रबन्धक चेतराज पनेरुले राससलाई बताउनुभयो । लाभांश वितरणका लागि रु एक करोड ३२ लाख छुट्याइएको छ ।

संस्थाले वार्षिक १५ प्रतिशतका दरले २०७१ साल असारसम्म सेयर सदस्य भएकालाई १२ महिनाको, २०७१ पुससम्म सेयर सदस्य भएकालाई छ महिनाको, २०७१ चैतसम्म सेयर सदस्य भएकालाई तीन महिनाको लाभांश वितरण गर्न लागेको हो ।

संस्थाले आर्थिक वर्ष २०७१÷७२ को आर्थिक कारोबारबाट रु पाँच करोड १९ लाख ३८ हजार सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । कर्मचारीका लागि १० प्रतिशत बोनस व्यवस्था रकमका लागि रु ४७ लाख २२ हजार छुट्याइएको छ । सहकारी ऐन, २०४८ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न स्वीकृति पाई २२ वर्षअघि स्थापना भएको नवजीवन सहकारी संस्था लिमिटेडको अधिकृत सेयर पुँजी रु २५ करोडमध्ये २०७२ असारसम्म चुक्ता सेयर पुँजी रु नौ करोड ५९ लाख ८२ हजार ७०० पुगेको छ ।

यस्तै, गत वर्षको निक्षेप रु एक अर्ब २६ करोड ४८ लाख ९६ हजारबाट वृद्धि भई २०७२ साल असारसम्म संस्था कुल निक्षेप रकम रु एक अर्ब ६२ करोड पाँच लाख पुगेको छ । कैलाली र बर्दिया जिल्ला कार्यक्षेत्र रहेको संस्थाले सेयर सदस्यको आर्थिक स्तर वृद्धि गर्न व्यापार–व्यवसाय, उद्योग, कृषि, सेवा व्यवसाय, सवारीसाधन खरिद, घर निर्माण, घरेलु उपकरण खरिद, विपन्न वर्ग कर्जा, उभोक्ता कर्जा लगायतका क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया