काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने कुनै आधार छैन

इनेप्लिज २०७२ चैत ४ गते १७:३३ मा प्रकाशित

khum-bhadur-khadka-768x512

नेपाली काग्रेसको महाधिवेशनपछि मुलुकमा सरकार परिवर्तन र राष्ट्रिय सहमतिको सरकारको कुराले चर्चा पाउन थालेको छ । सत्ता गठबन्धनको प्रमुख घटक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काग्रेसको महाधिवेशनपछि सहमतिको सरकार बन्ने भनि सार्वजनिक अभिब्यक्ति दिएपछि यसले तुल पकडिएको हो । काग्रेसको महाधिवेशनपछि भनिएको विषय अहिले प्रधानमन्त्रीको चीन भ्रमण पछि भन्ने कुराहरु आउन थालेका छन । आखिर सहमतिको सरकार गठन, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी

नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ला ?
संविधान कार्यान्वयनको पहिलो चरणलाई ध्यान दिएर राष्ट्रिय सहमतिको सरकारको कुरा उठेको हो । त्यसको आवश्यकता र महत्वको विषयमा अहिले पनि चर्चा भईरहेको छ । हिजो नेपाली काग्रेसलाई नेकपा एमाले नेतृत्वको सरकारमा ल्याउन पहल गरिएको हो । प्रारम्भमा समझदारी बनाएर पनि नेपाली काग्रेस त्यसमा आएन । पछाडि नेपाली काग्रेसका नेताहरुसँग छलफल गर्दा खेरी महाधिवेशन सम्म छाड्नुस हामीले केही गर्न सक्ने कुरा भएन त्यसकारण महाधिवेशनपछि छलफल गरौला भनेको हुनाले फेरि राष्ट्रिय सहमतिको सरकार निर्माणको कुराले चर्चा पाएको हो । तर तपाईले भने जस्तो अहिले नै नेपाली काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्छ भन्ने कुनै आधार देखा पर्दैन ।

तपाईकै पार्टीका अध्यक्ष प्रचण्डले काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्न सक्छ भनेर भन्नु भएको थियो नि ?
हाम्रो प्रस्ताव काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार होईन । राष्ट्रिय सहमतिको सरकार देशलाई आवश्यक भएको सन्दर्भमा पार्टीहरुका विचमा छलफल हुनुपर्छ भन्ने हो । त्यसो गर्दा अहिले नेकपा एमालेको नेतृत्वमा सरकार छ । पहिलाको समझदारी अनुसार नेकपा एमालेको नेतृत्वमा नै नेपाली काग्रेस आयो भने साह्रै राम्रो भयो ।

यदि नेकपा एमालेको नेतृत्वमा आउने बातावरण बनेन भने ?
यो राजनीतिक दलहरुवीचको छलफलको प्रक्रियाबाट निधो हुने विषय हो । हाम्रो प्रस्ताव चाँही नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऊ भन्ने होईन ।

नेपाली काग्रेस देशको सबैभन्दा ठूलो पार्टी हो नि ?
ठूलो पार्टी हो त्यस आधारमा उहाँहरुले सरकारको नेतृत्व पनि गरिसक्नु भयो । अहिले नेकपा एमालेको नेतृत्वमा सरकार छ । कुनै पनि दलको नेतृत्वमा सरकार बन्न दलहरुवीच सहमति हुनसक्छ । त्यसकारणले अहिले नेकपा एमालेको नेतृत्वमा सरकार भएकोले सबैभन्दा राम्रो पहिलाको समझदारी अनुसार नेपाली काग्रेस यही सरकारमा सामेल भएर सहमतिको सरकार बनाउनु हुन्छ । भएन भने अरु के भन्ने विषयमा छलफल हुन सक्छन । त्यो सम्भावनाको कुरा हो तर अहिले नै त्यसको आधार तयार भएको छ भन्न सकिन्न ।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले त एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दैन भनेर प्रष्टसँग भनिसक्नु भएको छ नि ?
त्यो नेपाली काग्रेसको कोणबाट उहाँले भनेको कुरा भयो । त्यसले गर्दा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नै कमजोर भएको छ । एउटाले नेकपा एमालेको नेतृत्वमा हुदै हुदैन भन्ने र अर्कोले नेपाली काग्रेसको नेतृत्वमा हुदै हुदैन भन्ने हो भने के हाम्रो पार्टीको नेतृत्वमा हुन सक्छ त ? हाम्रो पहिलो प्रस्ताव नेकपा एमालेको नेतृत्वको बर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनु उपयूक्त हुन्छ । राष्ट्रिय सहमतिको सरकार आवश्यकता हो, हामी सबै मिलेर संविधानलाई कार्यान्वयन गरौ, पुनःनिर्माणको प्रक्रियालाई अगाडि बढाऔ, स्थानीय, प्रादेशिक र संघीय चुनाव सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधि सस्थालाई सस्था सुम्पौ र संविधान कार्यान्वयनको पहिलो चरण पार गरौ त्यसपछि आर्थिक विकास समृद्धिमा केन्द्रीत हौ भन्ने हो भने विभिन्न विकल्पमाथि छलफल हुन सक्छ ।

तपाईहरुको एमाओवादी नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ भन्ने धारणा हो ?
बन्नु पर्छ भन्ने हाम्रो कुनै आकांक्षा छैन । हामीले पहिलादेखि भनेका छौ, हामी तेस्रो पार्टी हौ । हामीले जसरी हुन्छ, जे जे प्रपञ्च मिलाएर हुन्छ हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउनु पर्छ भन्नेमा छैनौ । हामीले त राष्ट्रलाई केन्द्र विन्दुमा राखेर भनेको कुरो के हो भने राष्ट्रिय सहमतिको सरकार हुनु बेस भनेको हो तर राष्ट्रिय सरकार नै हाम्रो प्रमुख एजेण्डा होईन ।

तपाईहरु प्रचण्डलाई फेरि प्रधानमन्त्री बनाउने पक्षमा हुनुहुन्न ?
हामीले तेस्रो पार्टी हुनुको नाताले हाम्रो नेतृत्वमा सरकार हुनुपर्छ भन्ने कुनै मुभ गरेका छैनौ । तर राष्ट्रको आवश्यकतालाई ध्यान दिएर हाम्रै पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार हुनु पर्छ भनेर नेपाली काग्रेस र नेकपा एमालेका साथीहरु तयार हुनु भयो भने त्यसका निम्ति हामीले आफूलाई तयार नै नपार्ने भन्ने चाँही हुदैन । त्यो एउटा सम्भावना त हुन सक्छ ।

काग्रेस र एमाओवादीको गठबन्धन बन्न सक्छ ?
त्यसरी हामीले बहुमतको सरकार बनाउने त सोचेका छैनौ । बहुमतकै सरकार बन्ने हो भने त एमाले र हाम्रो सरकार छदैछ नि ।

तपाईहरुले नै त यो सरकार असफल भयो भनेको होईन ?
अहिलेको सरकारको काम कारवाहीको बारेमा हाम्रो गंभिर समिक्षात्मक टिप्पणीहरु छन त्यो कुरा सहि हो । यो सरकारको काम कारवाहीलाई अझै प्रभावकारी, परिणाममुखि बनाउनका निम्ति मेहनत गर्नु पर्छ भन्ने पनि हाम्रो निष्कर्स छ । हामीले यो निष्कर्स निकालेका छैनौ कि यो सरकारको ठाँउमा अर्को सरकार बनाउनु पर्छ वा सरकारबाट फिर्ता भई हाल्नु पर्छ भन्ने ।

मन्त्रीहरुले काम गर्न सकेनन फिर्ता बोलाउनु पर्छ भनेर तपाईले नै भनेको होईन ?
त्यस विषयमा हाम्रो छलफल र बहस छदैछ । त्यसपछि हाम्रा मन्त्रीहरुले पनि अलिक प्रयत्नहरु गरिरहनु भएको छ । तर केपी ओली नेतृत्वको सरकारको समग्र कामलाई नै हामीले के भनेका छौ भने नेपाली जनताले अपेक्षा गरे अनुसारको काम भईरहेको छैन, अझै प्रभावकारी र परिणाममुखी बनाउनु पर्छ । यसैको निम्ति जोड गर्ने मेहनत गर्ने भन्ने हाम्रो निष्कर्स हो । यो सरकारलाई विस्थापन गरेर अर्को सरकार बनाउने वा यो सरकारबाट फिर्ता हुनै निष्कर्स हामीले निकालिसकेका छैनौ ।

प्रधानमन्त्रीलाई चीन नेपाली कि चीनीया कुन विमानमा पठाउने ?
त्यो सरकारले निर्णय गर्ने कुरा हो । आफ्नै विमानमा जानु होला ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण सफल हुन्छ ?
हुनु पर्छ ।

भ्रमण सफल हुने आधार छ ?
आधार छ । चीन र नेपाल दुईटा यस्ता छिमेकी मुलुकहरु हुन जसको वीचमा कुनै गंभिर वा महत्वपूर्ण किसिमको कुनै समस्या रहेन । यस प्रकारको छिमेकी मुलुकहरु दुनियाँमा कम मात्रै छ । अहिलेको सन्दर्भमा हामीले चीनसँग विशेष ढंगले आर्थिक, ब्यापार, पारवहनको विषयमा प्रस्ताव पठाएर छलफल गरिरहेको स्थिति छ । यो सबै परिस्थितिमा प्रधानमन्त्रीको चीन भ्रमण नेपाल र चीनवीचको छिमेकी मैत्रिपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउन र दुई देशको हितमा आधारित भएर अरु केही सम्झौताहरु गर्न सफल हुने छ भन्ने हामीले आशा गरेका छौ ।

भारत जाँदा राष्ट्रिय स्वाधिनता, राष्ट्रियताको कुरा उठ्छ राष्ट्रिय हितलाई सर्वोपरि राखेर सम्झौता गर्नुस भन्नु हुन्छ तर चीन जाँदा चाँही केही पनि भन्नु हुन्न नि ?
नेपाल राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता, नेपालको स्वाधिनता, स्वाभिमान र हितलाई लाई नै केन्द्र विन्दुमा राख्नु पर्छ र यसमा आँच आउने कुनै पनि प्रकारको गतिविधी हुनु हुन्न भन्ने पक्षमा हामी स्पष्ट छौ । लिपुलेकको विषयमा चीन र भारतको एउटा सम्झौतामा परेपछि सबैभन्दा पहिले राजनीतिक पार्टीहरुको तर्फबाट प्रतिक्रिया दिने र चीनको नेपालमा भएको राजदुतलाई बोलाएर आपत्ति प्रकट गर्ने र सच्याउन आग्रह गर्ने म नै हुँ ।

प्रधानमन्त्रीलाई चीन भ्रमणमा लिपुलेकको कुरा उठाउन भन्नु हुन्छ ?
नेपालको राष्ट्रिय स्वार्थमा कसैसँग कुनै सम्झौता हुन सक्दैन । सरकारमा रहेका पार्टीहरुका तर्फबाट हामी चीन भ्रमणमा के के कुरा उठाउने र के के कुरा पार लगाउने भन्ने विषयमा गंभिर छलफल गर्छौ । त्यो छलफलको सन्दर्भमा एउटा विषय लिपुलेक पनि हुन्छ ।

दुई माओवादी वीच एकता हुने निश्चित भएको हो ?
एकताको चाहना हामीले गरेकै छौ । त्यसमा प्रयत्न पनि भईरहेको छ । हामी त पार्टी फुट्नु नै गलत हो भन्ने शक्ती भएको हुनाले एकता गराउन चाहन्छौ । पार्टी फुटाएर यो पार्टीलाई आरोपित गरेर किरणजी हुनु भएको हो । उहाँहरु पनि एकताको पक्षमा आउनु भयो भने राजनीतिक र सैद्धान्तिक विषयमा समान धारणा तय गर्दै हामी पार्टी एकताको पक्षमा रहन्छौ । त्यसको निम्ति प्रयत्न भईरहेको छ तर अहिले टुंगोमा पुगिसकेको छैन ।
तपाईहरु मोहन बैद्यलाई अध्यक्ष र प्रचण्डलाई संसदीय दलको नेता बनाउन तयार हुनु भएको हो ?
यो कुरा सत्य होईन, यो एजेण्डामा छलफल नै भएको छैन ।

प्रचण्डले त मोहन बैद्यलाई म अध्यक्ष बनाउन तयार छु भन्नु भएको छ नि ?
त्यो त उहाँले सामान्य सिद्धान्तको कुरा गर्नु भएको हो । उहाँले नेपालको सबै माओवादी क्रान्तिकारीहरुलाई एकताबद्ध गर्न र सबैलाई एकीकृत गरेर नेपालको नयाँ चरणको कार्यदिशाको नेतृत्व गर्ने सुदृढ क्रान्तिकारी पार्टी बनाउन म जुनसुकै त्याग गर्न पनि तयार छु भन्ने सन्दर्भमा त्यो नीतिगत कुरा गर्नु भएको हो । उहाँले हाम्रो दुई पार्टीविच छलफल भएर बैद्यजी तपाई अध्यक्ष बन्नुस म बन्दिन भनेर प्रस्ताव राखेको भन्ने कुरा सत्य होईन । पार्टी एकतामा आधारभुत राजनीतिक लाईनमा समझदारी बनाउने कुरा मुख्य हो । त्यसमा समझदारी भएर अब पार्टी एकताको पक्षमा जाने भयौ भने पछि टेक्निकल कुरामा प्रवेश गर्छौ ।

तपाई मोहन बैद्यलाई एमाओवादीको अध्यक्ष स्विकार्न तयार हुनु हुन्न ?
त्यो कुरा सत्य होईन । हामीले यसमा छलफल नै गरेको छैनौ । सिद्धान्त निष्ठ एकता हुने भएकोले अहिले लेनदेन हुने भन्ने कुरा हुदैन । राजनीतिक लाईन मिलेपछि सांगठनिक संरचनाको विषयमा कुरा आउँछ । अहिले राजनीतिक लाईन र सैद्धान्तिक विषयमा कसरी एक रुपता बनाउन छलफल छ ।

तपाईको कारणले पार्टी एकता त रोकिदैन ?
मेरो लागि पद महत्वपूर्ण कुरा होईन । म पार्टी एकताको लागि हिजो पनि प्रयत्न गर्ने मान्छे, फुटन लाग्दा हुदैन भनेर प्रयत्न गर्ने मान्छे । अहिले पनि सबै क्रान्तिकारीहरु एकताबद्ध हुनु पर्छ भनेर प्रयत्न गरिरहेको मान्छे । मेरो कुरा पार्टी रुपान्तरण र पुर्नगठन हुनु पर्छ । रुपान्तरण र पुर्नगठनको प्रक्रियाले विस्तारित गरेर एकता र धु्रविकरणको प्रक्रियामा सबै कम्यूनिष्ट क्रान्तिकारीहरुलाई ल्याएर एकीकृत क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ भन्ने म मान्यता राख्छु ।

मधेसको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गर्न सक्नु होला ?
गर्नु पर्छ । पहिला जुन विषयमा प्रधानमन्त्रीले फरक मत र अडान राख्नु हुन्थ्यो त्यो विषयमा त हामीले संविधान संसोधन गरिनै सक्यौ । जुन कुरा संविधान जारी गर्ने बेलामा एमाओवादीले फरक मतको रुपमा राखेको थियो त्यो मतभेदको आधारमा पनि केही संसोधन भईनै सकेको छ । बाँकी विषय पनि छलफल गरेर समाधान गर्ने दिशमा जानै पर्छ । यो समस्यालाई लामो समयसम्म लम्ब्याउनु कुनै पनि कोणबाट उपयूक्त छैन । हामीले राजनीतिक समस्यालाई राजनीतिक रुपमा संबोधन गरेर हामी सम्पूर्ण रुपमा पुर्ननिर्माण र संविधान कार्यान्वयनको पहिलो चरणलाई सफलतापूर्वक सम्पन्न गरेर जानु पर्छ ।

प्रतिक्रिया