रसुवा, ४ चैत । बिहिबार अपरान्ह निर्माण सामग्री बोकेर रसुवाको धुन्चेबाट गएको फिस्टेल एयरको हेलिकप्टर लाङटाङमा सामान्य दुर्घटनामा परेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार लाङटाङमा भूकम्पपछिको पूनर्निर्माणका लागि सामग्री लिएर गएको हेलिकप्टर फर्कन लाग्दा पंखामा समस्या भएपछि पल्टिएको हो ।
दिउँसो पौने ४ बजे हेलिकप्टरको रोटरमा केही आवाज आएको र पाइलटले हेलिकप्टर उडाउन खोज्दा नचलेपछि अहिले हेलिकप्टर लाङटाङमा राखिएको छ।
हेलिकप्टर बनाउन प्राविधिकसहितको फिस्टेल एयरकै अर्को हेलिकप्टर लाङटाङ गएको अधिकारीले जानकारी दिए।
‘हेलिकप्टरमा सामान्य क्षति भएको छ, मान्छेलाई केही क्षति भएको छैन’ अधिकारीले भने ‘सामान अनलोड गरेर उड्नुभन्दा अघि रोटरमा समस्या आएको हो। ’
सो हेलिकप्टरमा केही पर्यटक र स्थानीय धुन्चे आउनका लागि पर्खिरहेको भएपनि हेलिकप्टर बिग्रेपछि उनीहरु हेलिकप्टरमा नचढेको अधिकारीले बताए ।
प्रतिक्रिया