एक करोड राजस्व सङ्कलन

इनेप्लिज २०७२ चैत ४ गते १०:५९ मा प्रकाशित

Trafic-Policeसुरुङ्गा (झापा), ४ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक करोड दुई लाख ४३ हजार ५०० राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्दै चलाइएका साना ठूला सवारी साधनबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट आठ महिनाको अवधिमा २६ हजार ७३० वटा सवारीलाई कारबाही गरेको छ भने कारबाहीमा परेका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् ।

यसैगरी जिल्लामा भएका ११३ वटा दुर्घटनामा अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरे पनि नियम उल्लङ्घन गर्दै सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको बताइएको छ । प्रहरीले आठ महिनाको अवधिमा ३२९ वटा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मा प्वाल पारेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइएपछि प्रहरीले लाइसेन्समा प्वाल पारेको हो ।

‘अन टेस्ट’ नम्बर लेखिएका १५६ वटा ट्र्याक्टर, ७६ वटा जिप, कार तथा भ्यान, ४३ वटा बस र ट्रकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारबाहीमा परेका त्यस्ता ट्र्याक्टर, मोटरसाइकल, बस, ट्रकलाई ट्राफिक प्रहरीले तत्काल नम्बर लेख्न लगाएरमात्र छाडेको छ ।

त्यसैगरी ‘अन टेस्ट’ लेखिएका ३६ वटा सिटी सफारीसमेत कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रोशन आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया