सांसदले गरे वृद्धवृद्धालाई सम्मान

इनेप्लिज २०७२ चैत ३ गते २:५७ मा प्रकाशित

फलेवास (पर्वत), ३ चैत । ‘ज्येष्ठ नागरिकलाई सम्मान नै राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ पर्वत क्षेत्र नम्बर २ का सांसद विकास लम्सालले निर्वाचन क्षेत्रका २९ वटै गाविसका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गर्नुभएको छ ।

लामो समयसम्म बाँचेर समाज र राष्ट्रको निम्ति योगदान गर्ने वृद्धवृद्धालाई बाँकी जीवनको सुस्वास्थ्यको कामना गर्दै सम्मान गर्ने अभियान थालिएको हो । गत वर्षदेखि सुरु गरेको अभियानअन्तर्गत लम्सालले अहिलेसम्म क्षेत्र नं २ का पाँच गाविसका सबै वृद्धवृद्धालाई सम्मान गरिसक्नुभएको छ ।

यसैबीच, मङ्गलबार विकट गाविस भङ्गराका ६५ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । गाविसमा आयोजित एक कार्यक्रममा लम्सालले दोसल्ला र फूलमाला ओढाएर सम्मान गर्नुभएको हो । गाविसले दिएको तथ्याङ्कका आधारमा ७० वर्ष माथिका वृद्धवृद्धालाई सम्मान गरिएको सांसद लम्सालले बताउनुभयो । गाउ“मा भएका ज्येष्ठ नागरिक आफ्नै परिवारका सदस्यबाट अपहेलित भएका बेला सांसदले सम्मान गर्दा सम्मानित जीवन जिउन प्रेरणा मिल्ने भएकोले संसद् विकास कोषको केही रकम विनियोजन गरेर वृद्ध सम्मानको कार्यक्रम ल्याइएको सांसद लम्सालले बताउनुभयो ।

हालसम्म पाँच गाविसका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिसकिएको जानकारी दिँदै लम्सालले आफ्नो राजनीतिक जीवनलाई अघि बढाउनका लागि समाजमा रहेका वृद्धवृद्धाको सम्मान र प्रेरणा भएकाले पनि आफूले यस्तो अभियान थालेको बताउनुभयो । उहाँले जनताले दिएको जिम्मेवारीअनुरुप मुलुकले नयाँ संविधान पाइसकेको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

लम्सालले आफ्नो कार्यकालभरि निर्वाचन क्षेत्रका सबै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको र त्यसका लागि हरेक वर्ष तीन लाख रकम छुट्याएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा सम्मानित ज्येष्ठ नागरिकले राज्यका तर्फबाट पाएको सम्मान आफूहरुका लागि स्मरणीय हुने भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरुले जीवनको उत्तराद्र्धमा पहिलोपटक गाउँमै आएर सांसदले गरेको उक्त सम्मानले आफूहरुलाई अझै धेरै वर्ष बाँच्ने प्रेरणा मिलेको पनि बताए । कार्यक्रममा स्थानीय पञ्चेबाजा समूहलाई पञ्चेबाजा तथा त्यसका लागि आवश्यक ड्रेस लगायतका सामग्रीसमेत वितरण गरिएको थियो ।

प्रतिक्रिया