ग्यास अनलोड भएपछि नबाँडे डिपो नै सिलबन्दी

इनेप्लिज २०७२ चैत ३ गते २:३९ मा प्रकाशित

Gasदमौली, ३ चैत । जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा खटिएको एक टोलीले मङ्गलबार दमौली बजारमा रहेका ग्यासका डिपोको अनुगमन गरेको छ ।

टोलीले दमौली बजारमा रहेका दमौली सप्लायर्स, डी एन्ड डी, मङ्गल भाँडा पसल, मल्ल भाँडा पसल लगायतका ग्यास बिक्री गर्ने डिपोको अनुगमन गरिएको हो । ग्यास बिक्रेताले उपभोक्तालाई पुराना सिलिन्डर बिक्री गर्न छाडेर नयाँ सिलिन्डर किन्न बाध्य पारेको गुनासो बढेपछि अनुगमन गर्न टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताउनुभयो ।

अनुगमनका क्रममा गोदाममा भेटिएका सिलिन्डर तत्कालै उपभोक्तालाई चलनचल्तीको मूल्यमा वितरण गरिएको बताइएको छ । अनुगमनका क्रममा कतिपय शङ्कास्पद गतिविधिसमेत देखिएकाले अबदेखि ग्यास अनलोड भएको तीन दिनभित्रै सबै ग्यास उपभोक्तालाई वितरण गर्न आवश्यक निर्देशन दिइएको प्रशासनले जनाएको छ । त्यसरी ग्यास वितरण नगरी पुनः गोदाममा राखेर चर्को मूल्यमा बिक्री गरेको फेला परेमा सिलबन्दी गरिने बताइएको छ । टोलीमा व्यास नगरपालिकाका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो ।

प्रतिक्रिया