पानी दिवस मनाइँदै

इनेप्लिज २०७२ चैत २ गते १४:०६ मा प्रकाशित

काठमाडौँ, २ चैत । ‘गर्मी, खडेरी र झरी समाना गर्न गरौँ तयारी’ भन्ने नाराका साथ संसारभर यो वर्ष विश्व पानी दिवस मनाइँदैछ ।

जल तथा ऊर्जा आयोगको सचिवालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी यही चैत ४ देखि १० गतेसम्म जल सप्ताह मनाउन लागिएको जानकारी दिइयो । जल तथा ऊर्जा आयोग तथा जल तथा मौसम विज्ञान विभागको संयुक्त आयोजनामा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी पानी दिवस मनाउन लागिएको आयोगका सहसचिव केशवध्वज अधिकारीले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घले यस वर्षको पानी दिवस पानी र आजीविकालाई विशेष केन्द्रमा राखेको छ । विश्वभर नै जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु घट्दै गइरहेको र अतिजन्य मौसमी घटनामा आएको बढोत्तरीले जनसाधारणको जीविका वा दैनिकीमा नै सङ्कट पर्ने अवस्था आएको छ ।

जलस्रोतको दिगो व्यवस्थापन तथा पानीको समग्र सदुपयोग गर्नु अतिआवश्यक भइरहेको सन्दर्भमा पानी दिवस जनचेतना जगाउन सहायक सिद्ध हुने आयोगका सहसचिव अधिकारीको भनाइ छ । विश्वव्यापीरुपमा पानीले रोजगार तथा मानिसको दैनिक जीविकोपार्जनमा पार्ने प्रभाव र यसको महत्वबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै सर्वसाधरणदेखि नीति निर्माणको तहसम्म जनचेतना फैलाउनु नै यस सप्ताहको प्रमुख उद्देश्य रहेको छ ।

विश्वव्यापी रुपमा दिन प्रतिदिन भूमण्डलीय तापमानमा भइरहेको वृद्धिले पर्यावरण चक्रको प्राकृतिक स्वरुपलाई परिवर्तन गर्दै अत्यधिक गर्मी, खडेरी, झरी, बाढीजस्ता विषम मौसमी अवस्थामा बढोत्तरी गराउँदै लगेको छ । हिमाल पग्लदै गइरहेको छन् भने पारिस्थितिक चक्रका सेवामा उल्लेखनीय परिवर्तन आइरहेको छ ।

कार्यक्रममा जल तथा मौसम विभागका महानिर्देशक डा ऋषिराज शर्माले पानी र जलवायु परिवर्तनको विषयमा आमनागरिकलाई जानकारी गराउने उद्देश्यले साताव्यापी रुपमा दिवस मनाउन लागिएको बताउनुभयो ।

प्रतिक्रिया