अनुसन्धान ब्युरोको नाममा ठगी गर्ने व्यक्ति पक्राउ

इनेप्लिज २०७२ चैत २ गते १३:४१ मा प्रकाशित

काठमाडौँ, २ चैत । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरीर्भेक्षणको उच्च ओहदाको कर्मचारी भएको तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

गोरखा जिल्ला केराबारी घर भई हाल बालुवाटार डेरा गरी बस्ने वर्ष २९ का प्रकाश रेग्मीलाई ब्युरोको टोलीले पक्राउ गरेको हो ।

उनले कुमारी बैंकका ऋणी तथा उद्योग व्यवसायी काठमाडौँ, धापासी निवासी जितेन्द्रबहादुर श्रेष्ठलाई भेटी कर्जा सूचना केन्द्रमा कालोसूचीमा परेकाले बैंकिङ कसुर मुद्दामा कुमारी बैंकले कारबाहीका लागि राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएको छ भनी रकम माग गरेकोे ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिनुभयो ।

उनले ब्युरोसँग कुरा नमिलाए पाँच वर्ष जेल जाने सम्भावना रहेको र आफ्नो ब्युरोका अधिकारीसँग राम्रो सम्बन्ध रहेको भन्दै रकम मागेका थिए ।

रेग्मीलाई ब्युरोले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको र निजले गरेको कार्य बैंकिङ मर्यादा विपरीत भएकाले आवश्यक कारबाहीका लागि नेपाल राष्ट्र बैंकमा समेत पठाइने जनाएको छ ।

रेग्मी कुबेर मर्चेन्ट फाइनान्समा चार वर्ष कार्यरत रही पछि सल्लाहकारसमेत भई हाल नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकसमेत रहेको अनुसन्धानका क्रममा खुलेको ब्युरोले जनाएको छ ।

यसअघि महानगरीय प्रहरी अपराध महाशाखामा तत्कालीन प्रहरी नायब निरीक्षक दर्जामा कार्यरत विजयप्रताप शाह, ओखलढुङ्गा रुम्झाटार घर भई काठमाडौँ कपन बस्दै आएका राजेन्द्रराज गुरुङ, बाह्रबिसे सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ बौद्ध बस्दै आएका सोनम लामा, सङ्खुवासभा खाँदबारी नगरपालिका घर भई हाल ललितपुर सातदोबाटो बस्ने तीर्थराज रेग्मीलगायतलाई पनि ब्युरोको नाम ठगी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले ब्युरोले आर्जन गरेको विश्वसनीयता र गरिमालाई गिराउने गरी पछिल्लो समय यसकोे नाममा ठगी हुन थालेकाले यसप्रति सचेत हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले ब्युरोको नाममा कहीँ कसैले अनुचित प्रस्ताव राखे ब्युरोमा सम्पर्क राख्नसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया