संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक छ: प्रचण्ड

इनेप्लिज २०७२ चैत २ गते १२:०५ मा प्रकाशित

prachandaदोलखा, २ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको छ ।

चरीकोटमा आज ‘हाम्रो रेडियो’ १०३.४ मेगा हर्जको नवौँ वार्षिकोत्सवमा उहाँले संविधान कुनै धर्मग्रन्थ वा महाभारत र कुरान होइन त्यसैले अझै केही लेख्न बाँकी पनि छ र यो परिवर्तनीय पनि छ भन्नुभयो । “भर्खरै काँग्रेसको अधिवेसन सकिएको छ, हामी राष्ट्रिय एकताका लागि छलफल चलाउँदै छौँ ” अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट व्यापार विविधीकरण र परनिर्भरता घटाउने विषयमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै इन्धन र ग्यासको आपूर्ति अझै सहज नभएकामा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जनताप्रति जवाफदेही बनाउन सरकारले अहिले जारी गरेको कार्यविधि परिमार्जन गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

सञ्चारमाध्यमलाई व्यवस्थित बनाउन राष्ट्रिय सञ्चार नीति आवश्यक भएको उल्लेख गर्दै उहाँले त्यसबाट सञ्चारमाध्यमको विश्वास र मर्यादा कायम हुने बताउनुभयो ।

कार्यक्रममा सांसदद्वय पशुपति चौलागाईँ र पार्वत गुरुङ, सामुदायिक रेडियो प्रसारक सङ्घका कोषाध्यक्ष सुवास खतिवडा, पूर्वराज्यमन्त्री देवी खड्कालगायतले जिल्लामा विकास निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा ‘हाम्रो रेडियो ललितादेवी स्मृति पत्रकारिता पुरस्कार’बाट सिर्जना खड्का र ‘भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कार’बाट ‘सगरमाथाका टेलिभिजन’का राजेन्द्रकुमार श्रेष्ठलाई जनही रु पाँच हजारबाट पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया