शिक्षकको सक्रियतामा फेरिएको सामुदायिक विद्यालय

इनेप्लिज २०७२ चैत १ गते ३:५० मा प्रकाशित

थुम्पाखर (सिन्धुपाल्चोक), १ चैत । कुनै बेला जिल्लामा कमजोर मानिएको महेन्द्रोदय उमावि अहिले कसरी उत्कृष्टमध्येमा पर्न सक्यो ? उत्तर सजिलो छ, यहाँको शिक्षकको प्रतिबद्धता, अभिभावकको साथ र विद्यार्थीको लगनशीलता ।

शिक्षकले राम्रो पढाएपछि विद्यार्थी सफल हुने, विद्यार्थीले राम्रो नतिजा ल्याएमा अभिभावकले सहयोग गर्ने, त्यसपछि पूर्व विद्यार्थी पनि पुनः निर्माणमा तात्ने ः यही चक्र र संयोजनले विद्यालयलाई निरन्तर अगाडि बढाएको छ । अर्काे कुरा, यहाँ शिक्षकबीच मनमुटाव र तानातान देखिएन । सेवाअवधि छँदै निवर्तमान प्रधानाध्यापक चक्रबहादुर बस्नेतले निलप्रसाद सुवेदीलाई सो जिम्मेवारी हस्तान्तरण गर्नुभयो । बस्नेतले अहिले विद्यालयलाई रु ५२ हजार आर्थिक सहयोग प्रदान गरी सह संरक्षकको भूमिकामा सघाइरहनुभएको छ भने व्यवस्थापन समितिको नियमित रेखदेख गर्नु भएको छ ।

विद्यालयले प्रारम्भिक बालविकासका कक्षालाई उत्तिकै महत्व दिएको छ । शिक्षण पद्धतिमा शैक्षिक सामग्रीको प्रयोगलाई अनिवार्य गराएको छ । विद्यालयले गत वर्ष प्रवेशिकामा झन्डै ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको थियो । यहाँ शिक्षकलाई हरेक दिन आउँदा र जाँदा विद्युतीय हाजिरी गराइन्छ । सम्भवतः त्यस्तो हाजिरी गराउने यो विद्यालय जिल्लामै पहिलो हो । शिक्षकले विद्युतीय हाजिरी गराउँदा व्यवस्थापन गर्न कतिको सहज हुन्छ ? के उनीहरु सन्तुष्ट छन् ? भन्ने प्रश्नमा प्रधानाध्यापक सुवेदी भन्नुहुन्छ, “सुरुमा केही गाह्रो भयो, अहिले उहाँहरुले कर्तव्य ठान्नुहुन्छ, हामीले बेलाबेलामा प्रोत्साहन पनि दिँदै आएका छौँ । सामुदायिक विद्यालयको स्तर खस्कनुमा शिक्षकको दोष हो भन्ने आरोपलाई खण्डन गरेका छाँै ।”

विद्यालयले प्रशासनिक र अन्य शैक्षिक कार्यका लागि परीक्षा, अतिरिक्त क्रियाकलाप, अनुशासन तथा प्रार्थना व्यवस्थापन, सरसफाइजस्ता उपसमिति गठन गरेको छ ।

सो विद्यालयमा प्रारम्भिक बालविकास (इसिडी) देखि, एलकेजी र युकेजीका कक्षा पनि सञ्चालित छन् । यसले गर्दा माथिल्लो तहमा भर्नादर टिकाउ दरमा पनि सुधार आएको देखिन्छ भने गुणस्तरमा बल दिएको छ । हाल इसिडीदेखि कक्षा १२ सम्म गरी कुल ४७७ विद्यार्थी छन् । यसमा २७८ छात्रा र १९९ छात्र छन् । शिक्षकको सङ्ख्या २२ छ ।

आगामी वर्षका लागि विद्यार्थीलाई डायरी उपलब्ध गराउने, टिभी प्रोजेक्टरसहित भर्चुअल कक्षा सञ्चालन गर्ने र कक्षा ९ देखि प्राविधिक धारको पठनपाठन गर्ने, वार्षिक आर्थिक सर्वेक्षण गर्ने योजना रहेको सुवेदीले जानकारी दिनुभयो । भौतिक पूर्वाधारतर्फ हेर्दा विद्यालयमा पौडीस्थलको प्रबन्ध गरिएको छ भने आगामी वर्ष फनपार्क पनि बनाउने लक्ष्य लिइएको छ ।

सिन्धुपाल्चोकका सहायक जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद सुवेदीका अनुसार जिल्लामा कुल ५४७ विद्यालयमध्ये सबै भवन नभत्कने, चाँडो पुनः निर्माण हुने र गुणस्तर कायम राख्नेमा महेन्द्रोदय मावि रहेको छ ।

काठमाडौँबाट करिब ९० किलोमिटरको दूरीमा रहेको थुम्पाखर गाविस–५ को पाटीडाँडास्थितको महेन्द्रोदय उमाविले आइतबार सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यता तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित १४ औँ अभिभावक सम्मेलन, पूर्व विद्यार्थी मिलन समारोहको आयोजना गरी आफ्नो सक्रियता प्रदर्शन गरेको छ । हास्य कलाकार मनोज गजुरेल, लोक गायक नवराज घोरसाइने र लोक गायिका सुनिता दुलाललगायतको प्रस्तुतिले भूकम्प प्रभावित सो क्षेत्रका बासिन्दालाई मनोवैज्ञानिक राहत समेत मिलेको थियो ।

साथमा दुलालले हरेक वर्ष पाँच जेहेन्दार र विपन्न विद्यार्थीलाई रु पाँच÷पाँच हजारका दरले छात्रवृत्ति दिने घोषणा गर्दा विद्यार्थी उत्साहित भएका थिए ।

गत वैशाखको विनाशकारी भूकम्पले आइएचडिपी नामक संस्थाको सहयोगमा स्थानीय जनश्रमदानसहित निर्मित ढुङ्गा र माटोले बनेको दुई तले सात कोठे भवन ध्वस्त हुनुका साथै दुई वटा भूकम्प प्रतिरोधी ब्लकका पर्खाल भत्किएका थिए । हाल त्यहाँ पुनः निर्माणको क्रम जारी छ ।
विसं २०१८ मा संस्थापक प्रधानाध्यापक रुद्रराज थापाले प्राथमिक तहबाट स्थापना गर्नु भएको सो विद्यालय २०३२ सालमा निमावि र २०३९ सालमा मावि स्तरोन्नति भयो भने २०६२ सालमा उमावि बन्न सफल भएको हो । विद्यालयका नाममा हाल स्थानीय चित्रबहादुर भण्डारी, चन्द्रबहादुर भण्डारी र देवीबहादुर भण्डारीको योगदानबाट १४ रोपनी जग्गा छ ।

विद्यालयले २०७० सालमा स्वर्ण महोत्सव मनाउँदा भवन निर्माणका लागि शिक्षक, अभिभावक, पूर्व विद्यार्थी, संस्थान र शुभेच्छुकबाट विभिन्न चन्द सङ्कलन गरेको थियो भने हालका व्यवस्थापन समितिका अध्यक्ष रामशरण कार्कीले रु तीन लाख ११ हजार प्रदान गरी प्रमुख संरक्षकको जिम्मेवारी पनि पाउनुभएको छ । विद्यालयले रु ५० हजारसम्म प्रदान गर्ने अन्यलाई सहसंरक्षकको सम्मान पनि दिँदै आएको छ ।

प्रतिक्रिया