काठमाडौँ, १ चैत । राणा प्रधानमन्त्री जुद्ध शमशेरले त्यसबेलाको पारिवारिक शौख पूरा गर्न विसं १९८९ मा स्थापना गरेको सदर चिडिया खाना आज पनि वृद्धवृद्धादेखि, युवायुवती तथा बालबालिकाका लागि मनोरञ्जन र आकर्षणको केन्द्र बन्दै आएको छ ।
हालको स्टाफ कलेज रहेको भवन जुद्ध शमशेरको दरबार भएकाले त्यस वरपरको एकान्तकुनादेखि चिडियाघरसम्म उहाँको नै स्वामित्वमा रहेकाले त्यसबेला हात्ती, घोडासहित अरु पशुपक्षी शोखका लागि सजाइने गरिएको चिडियाघर विसं २००७ को परिवर्तनपछि सरकारले स्वामित्वमा लिएर चिडियाघरको रुपमा विकास भएको हो ।
विसं २०५२ पुसमा यसको व्यवस्थापनको जिम्मा ३० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइएको छ ।
चिडियाघरको चारैतर्फ रहेका हरियाली जङ्गल, नौका विहारका लागि ठूलो पोखरी, अजङ्गका बाघ, भालु, हात्तीसहित दुर्लभ जीवजन्तु तथा चराचुरुङ्गी प्रकृतिका अमूल्य रत्न हुन् ।
रासससँग कुरा गर्दै सदर चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले कोषअन्तर्गतको चिडियाघर परियोजनाले चिडियाघरमा रहेका वन्यजन्तु तथा जनावर एवम् पशुपक्षीको संरक्षण गर्ने तथा चिडियाघरमा आउने आगन्तुकलाई भरपूर मनोरञ्जन दिँदै आएको बताउनुभयो ।
झन्डै छ हेक्टर जमिनमा फैलिएको यो चिडियाघरमा १०५ जातिका ७९० जीवजन्तु तथा पशुपक्षी रहेको उहाँले जानकारी दिनुभयो । हाल चिडियाघरमा तीन वटा बाघ, चार वटा गैँडा, चार वटा चितुवा र एउटा हात्तीसहित जलगैँडा, नेपाल र भारतमा मात्र पाइने बाह्सिङ्गे रहेको छ ।
त्यस्तै इन्डोनेसिया र मलेसियामा मात्र पाइने सिमाङ्ग (वनमान्छे) दर्शकको आकर्षकको केन्द्र रहेको छ । उक्त वनमान्छेको सरदर आयु ४० वर्षको रहेको छ ।
वार्षिक झन्डै १० लाखभन्दा बढी बालबालिका, वृद्धवृद्धा तथा युवायुवतीले मनोरञ्जन लिने यो आकर्षक थलोमा दैनिक छ हजार आगन्तुक आउने गरिएको यसको हेरचार गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको भनाइ रहेको छ ।
भूकम्प र भारतको आर्थिक नाकाबन्दीले पनि आगन्तुकको आगमनमा केही प्रभाव परेको छ ।
चिडियाघरको अवलोकनका लागि आउनु भएका काभ्रेका अर्जुन घलेले केटाकेटीलाई मनोरञ्जनका लागि चिडियाघर घुमाउन आएको बताउनुभयो ।
दर्शक तथा आगन्तुकबाट वार्षिक रु आठ करोड आम्दानी रहेको सदर चिडियाखानाले जीवजन्तु तथा पशुपक्षीका लागि रु एक करोड ४० लाख खर्च गर्ने गरेको छ ।
सूर्य विनायकमा पनि नयाँ चिडियाघर निर्माण गर्ने प्रस्ताव सरकारसमक्ष राखिएको भए पनि निर्णय भने भइनसकेको कोइरालाको भनाइ छ ।
विसं २०३७ देखि चिडियाघरमा रहेका पवनकली हात्तीको उमेर ६५ वर्षको छ । त्यस अतिरिक्त सदर चिडियाखानाले बाघको खोरसहित केही खोर तथा जन्तु तथा चराचुरुङ्गीको खोर निर्माण गरिसकेको र केही निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया