चारवटा विद्यालयलाई तीन लाख सहयोग

इनेप्लिज २०७२ फागुन २८ गते २:३० मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, २८ फागुन । म्याग्दीका चारवटा सामुदायिक विद्यालयलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेल्जियमले रु तीन लाख आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका चारवटा सामुदायिक विद्यालय प्रत्येकलाई भौतिक पूर्वाधार निर्माणार्थ रु ७५ हजारका दरले सहयोग हस्तान्तरण गरिएको हो ।

ओमकुमारी शान्ति कोषमार्फत उपलब्ध गराइएको उक्त सहयोग बिहीबार बेनीमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । मोना बेल्जियमले जिल्लाको बाबियाचौर गाविसको त्रिभुवन मङ्गला मावि, भकिम्लीको मुसुङ्डोले निमावि, पाखापानीको मालिका निमावि र ताकमको ताकम माविलाई सहयोग गरेको हो ।

ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा मोना बेल्जियमका निवर्तमान अध्यक्ष एवम् मोना अन्तर्राष्ट्रिय कार्यकारिणी समितिका महासचिव घनश्याम शाहीले सम्बन्धित विद्यालयका प्रतिनिधिहरुलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण गर्दै मोना बेल्जियमका निवर्तमान अध्यक्ष शाहीले आर्थिक अवस्था कमजोर रहेका विद्यालयलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउँदै जिल्लाको शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा प्रवासी म्याग्देलीले सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा सहयोग बुझ्दै ताकम माविका प्रअ रामबहादुर केसीले मोना बेल्जियमले उपलब्ध गराएको सहयोगले आफूहरुलाई राहत पुगेको बताउँदै सहयोगको पूर्ण सदुपयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया