क्यान्सरपीडित बालकको उपचारमा समस्या

इनेप्लिज २०७२ फागुन २८ गते २:१९ मा प्रकाशित

फलेवास (पर्वत), २८ फागुन । तिलाहार–२ गिज्यानका एक सात वर्षीय बालक सचिन मल्ललाई क्यान्सर भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

पाँच वर्षअघि खेल्नेक्रममा लडेर निधारमा सामान्य चोट लागेकै कारण अहिले उनी क्यान्सरबाट पीडित बनेका हुन् ।

घाउको उपचार गर्दागर्दै पनि करिब एक वर्षपछि उनलाई बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले क्यान्सर भएको बताएको हो । पारिवारिक आर्थिक स्रोत केही नभएका परिवारको अहिले ऋणधन गरेरै जुटाएको करिब रु नौ लाख खर्च भइसकेको छ । सात वर्षे बालक सचिनको अवस्थामा भने अझै सुधार आएको छैन ।

गाउँमा नै किराना पसल व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका सचिनका बाबु चक्रबहादुर मल्ल अहिले छोराको उपचारका लागि सहयोग जुटाउन गाउँदेखि सहरसम्म र विदेशमा भएका आफन्तलाई गुहार्न थालेका छन् । “आफूसँगै भएको जायजेथा सबै छोराकै उपचारमा सकियो, अब मेरो उपाय केही छैन” बाबु चक्रबहादुर मल्लले भन्नुभयो – “कहीँ कतैबाट सहयोग जुटाउन पाए छोराको ज्यान बच्थ्यो कि ?” आफू पनि निमोनियाबाट पीडित बनेका मल्लले भावुक हुँदै भन्नुभयो ।

उपचारका क्रममा सचिनको तेस्रो पटकसम्म शल्यक्रिया भइसकेको छ । शल्यक्रियाकै कारण पहिलाको अवस्थाभन्दा अहिले सुधारोन्मुख रहेको छ ।

क्यान्सर अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टर कृष्णसागर शर्मालगायतका उपचारमा संलग्न चिकित्सकले तीन वर्षसम्म प्रत्येक महिनाको एक पटक अस्पतालमा ल्याउनुपर्ने सल्लाह दिएको उहाँले बताउनुभयो ।

महिनाको एक पटक जाँदा पनि झन्डै रु १० देखि १५ हजारसम्म खर्च हुने भएकाले आफूले सहयोगको आग्रह गरेको उहाँले बताउनुभयो । “चिकित्सकले भनेको समयमा लगेर उपचार गर्न सक्ने हो भने रोग निको हुने आश्वासन दिएका छन्” – उहाँले भन्नुभयो ।

उपचारका क्रममा देश÷विदेशमा भएका दाजुभाइहरुको राम्रै सहयोग पाएको बताउँदै आगामी दिनमा समेत सहयोगदाताहरुबाट सहयोग पाए छोरा सचिनको जीवन बचाउन सक्ने उहाँले बताउनुभयो ।

मल्लका दुई छोरा र एक छोरीमध्ये कान्छो छोरा सचिनमा क्यान्सर देखिएको हो । अहिले सचिन गाउँकै विद्यालयमा कक्षा १ मा पढ्दैछन् । उपचारकै कारणले पठनपाठनमा समेत नियमितता दिन नसकिएको सचिनकी आमा ज्ञानु मल्लले बताउनुभयो ।

प्रतिक्रिया