बहकावमा धर्म परिवर्तन मानवीय भुल: मन्त्री सुब्बा

इनेप्लिज २०७२ फागुन २८ गते २:१८ मा प्रकाशित

Ram-Kumar-Subbaइटहरी, २८ फागुन । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–२ स्थित मुक्तिनारायण मन्दिरमा धर्मशाला निर्माण तथा मन्दिर घेराबारा सहयोगार्थ बिहीबारदेखि श्रीमद्भावगत ज्ञान महायज्ञ पुराणको शुभारम्भ भएको छ ।

पाँच कट्ठा जग्गामा फैलिएको मन्दिरको घेराबारा तथा निर्माणाधीन धर्मशाला निर्माण सहयोगार्थ सप्ताह महायज्ञ पुराण आयोजना गरिएको मन्दिर सञ्चालक समितिले जनाएको छ ।

महायज्ञ पुराणको भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले बिहीबार उद्घाटन गर्नुहुँदै धार्मिक सापेक्षता नै हामी नेपालीको पहिचान भएकाले त्यसका लागि सम्पूर्ण ओमकार परिवारमा आबद्ध नेपालीले पछिल्लो समयमा व्यवस्था भएको धर्म निरपेक्षतालाई चिर्न आ–आफ्नो स्थानबाट सचेतनाकासाथ अघि बढ्न जरुरी रहेको कुरामा जोड दिनुभयो ।

मन्त्री सुब्बाले हिन्दू, बौद्ध र किरात धर्मभित्र आबद्ध हामी ओमकार परिवारमा रहेका सनातन हिन्दू परम्परा र संस्कार मान्नेहरुले कहिल्यै पनि हिन्दू कट्टरतालाई प्राथमिकता नदिएको अवस्थामा अहिले पश्चिमा मुलुकको आडमा कहीँ कहिल्यै नअँगालेको धार्मिक आचारणलाई जबर्जस्ती अङ्गाल्न बाध्य पार्ने कार्य भइरहेकाले त्यसविरुद्ध सचेत रहनु हामी ओमकार समुदायको कर्तव्य हुन आउने उहाँको भनाइ थियो ।

महायज्ञ उद्घाटन समारोहमा मन्त्री सुब्बाले आफ्नो धर्म, संस्कार र संस्कृतिलाई छोडेर कहिल्यै तादात्म्य नमिल्ने आचरणको अनुशरण गर्नु हामी नेपालीको धर्म, संस्कार र संस्कृतिभित्र नपर्ने दाबीसमेत गर्नुहुँदै कसैको बहकावमा सनातन धर्म परिवर्तन गर्नु मानवीय भुल हुने कुरामा पनि सचेत गराउनुभयो ।

महायज्ञ उद्घाटनअघि विश्व मानव शान्तिको कामना गर्दै शोभा कलश यात्रामा सहभागी भएका सयौँ महिलाले इटहरी–२ को मुख्य बजार क्षेत्रको परिक्रमा गरेका थिए ।

उद्घाटन समारोहमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारी, शिक्षासेवी जगदीशप्रसाद ओली, जानुका खतिवडालगायतले मन्तव्य राख्नुभएको थियो ।

महायज्ञ सप्ताहमा बराहक्षेत्र पीठका पुजारी पण्डित योगेश भण्डारीबाट भागवत वाचन हुने सो महायज्ञमा सङ्कलित रकमले धर्मशाला निर्माण तथा घेराबारा गरिने समितिका सदस्य जनकबहादुर कार्कीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया