भन्सार कार्यालयको काम दुईदिन प्रभावित

इनेप्लिज २०७२ फागुन २७ गते १२:०२ मा प्रकाशित

पथरी (मोरङ), २७ फागुन । विराटनगरका भन्सार एजेन्टहरुले पेनडाउन गर्दै आन्दोलनमा उत्रिएपछि भन्सार कार्यालयको काम प्रभावित भएको छ ।

भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरका अनुसार भन्सार जाँचपास भएर पठाइएका सामान चेकजाँचमा प्रहरीले दुःख दिएको भन्दै एजेन्टले आन्दोलन सुरु गरेका हुन् । अध्यक्ष परासरले भन्नुभयो –“प्रहरीले अनाहकमा दुःख दिएको छ, त्यसैले आन्दोलनमा उत्रिएका हौँ ।” भन्सार एजेन्टहरुको आन्दोलनका कारण भन्सारको काम कारबाही मङ्गलबार र बुधबार प्रभावित बनेको छ ।

भारतबाट आएका र भारततर्फ जाने मालबाहक सवारी साधनको जाँचपासका सबै काम कारबाही ठप्प रहेको भन्सार प्रमुख कृष्ण बस्नेतले बताउनुभयो ।

प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी परिणामको सामानको जाँचपास गरेर त्यहीअनुरुप कागजात मिलाउँदै बढी परिणामको सामान पठाउने धन्दा सुरु गरेपछि प्रहरीले कडाइ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले कुनै पनि गैरकानुनी काममा सम्झौता गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो – “गैरकानुनी कामलाई प्रोटेक्सन हुदैन ।”

आन्दोलनका नाममा सिधै तस्करी गर्न पाउनुपर्‍यो भन्ने भन्सार एजेन्टको आशय रहेको स्थानीयवासीको भनाइ छ । त्यसरी कम परिणामको जाँचपास गरेर बढी परिणामको सामान पठाउन पाइँदैन ।

बढी परिणामको सामान कटाउन थालेसँगै प्रहरीले मालबाहक सवारी साधन धमाधम नियन्त्रणमा लिँदै कारबाही अघि बढाउन थालेपछि एजेन्टहरु विरोधमा उत्रिएका हुन । एजेन्ट सङ्घको आन्दोलनले बुधबार रु तीन करोड राजस्व असुली प्रभावित भएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया