महिला आन्दोलनमा पुरुष र महिलाको एकता आवश्यक

इनेप्लिज २०७२ फागुन २६ गते २:२६ मा प्रकाशित

उर्लाबारी (मोरङ), २६ फागुन । नेकपा (एमाले)की केन्द्रीय सदस्य एवम् मोरङ इन्चार्ज डा शिवमाया तुम्बाहाम्फेले पुरुष र महिला मिलेर अघिबढे मात्र नेपालको महिला आन्दोलन सफल हुने बताउनुभएको छ ।

एक सय छआँै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ, मोरङ उर्लाबारी नगर कमिटीले मङ्गलबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री तुम्बाहाम्फेले सो कुरा बताउनुभएको हो ।

महिलालाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिकरुपमा अघि बढाउन पुरुषको महत्वपूर्ण भूमिका रहेको बताउँदै एमाले नेत्री तुम्बाहाम्फेले पुरुष र महिला मिल्न सकेमात्र महिला सशक्तीकरण हुने बताउनुभयो ।

नेपालमा जारी भएको नयाँ संविधानले महिलाको हकअधिकारका सबै कुरा सुनिश्चित नगरेपनि तुलनात्मकरुपमा पहिले भन्दा थुप्रै अधिकार प्राप्त भएको डा तुम्बाहाम्फेले बताउनुभयो ।

अहिले पनि पुरुष र महिलाका बीचमा फरकफरक ज्यालादर हुने गरेको बताउँदै उहाँले कानुनीरुपमै समान ज्यालादर तोकिएकाले त्यसको कार्यान्वयन गर्न सबै लागिपर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि डा तुम्बाहाम्फे, एमाले जिल्ला उपसचिव विद्या चाम्लिङ, एमाले जिल्ला सदस्य लक्ष्मी भण्डारी, अनेमसङ्घ क्षेत्रीय अध्यक्ष शर्शु गुरुङ लगायतले दिवस मनाउनुको औचित्य, नयाँ संविधानमा उल्लेख भएका महिला अधिकार, त्यसका खेल्नुपर्ने भूमिका, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

उर्लाबारी नगरभित्रका १०० भन्दा बढी महिलाको सहभागितामा भएको कार्यक्रम अनेमसङ्घ नगर अध्यक्ष कृष्णमाया कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया