यही सरकारमा राष्ट्रिय सहमति हुनुपर्छ: सचिव ज्ञवाली

इनेप्लिज २०७२ फागुन २५ गते १६:१५ मा प्रकाशित

pradip-gyawaliपोखरा, २५ फागुन । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने बताउनुभएको छ ।

एमाले बुद्धिजीवी विशेष कमिटी, पेसागत महासङ्घ र नेपाल बुद्धिजीवी परिषद् कास्कीले आज संयुक्तरुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि यही सरकारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो ।

राजनीतिक क्रान्ति पूरा भइसकेको अवस्थामा समृद्धिको मार्गमा लाग्न राष्ट्रिय सरकारको आवश्यकता रहेको उल्लेख गर्दै सचिव ज्ञवालीले राजनीतिक दललाई बुद्धिजीवीले समयसापेक्ष उचित सल्लाह र सुझाव दिएर सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य जगत विश्वकर्माले नाकाबन्दीले देशमा पारेको प्रभावलाई नेपालीले आफ्नो स्वाभिमानसँग नसाटेको बताउनुभयो । एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवम् कास्की जिल्ला इन्चार्ज मानबहादुर जिसीले परम्परागत सोचलाई परिमार्जन गर्दै पार्टी सङ्गठन सुदृढीकरणमा जुट्नुपर्ने बताउनुभयो ।
एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पार्टी बुद्धिजीवी विशेष इलाका कमिटीका अध्यक्ष प्रेमनारायण खनाल, अभियानका अभियानकर्ता भीम कार्कीलगायतले समयसापेक्ष चुनौतीलाई आत्मसात् गर्दै देशलाई आर्थिक समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया