संविधानबाट सबै जातिको अधिकार सुनिश्चित: मन्त्री राई

इनेप्लिज २०७२ फागुन २३ गते १४:३० मा प्रकाशित

sherdhan-rai-photoकाठमाडौँ, २३ फागुन । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले संविधानले सबै जातजातिका अधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ ।

किरात राई यायोक्खाको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकमा भएका विभिन्न कालखण्डका राजनीतिक आन्दोलनका कारण नै अहिले नेपाली जनताले आफ्नो संविधान आफैँले निर्माण गरी जारी गरेको बताउनुभयो ।

मन्त्री राईले सबै जाति, भाषा तथा संस्कृतिका मानिसको विविधतालाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै सामाजिक न्याय र समान वितरण हुन सकेमा मात्र देशको आर्थिक र सांस्कृतिक विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी जनताका अधिकार जनतालाई उपलब्ध गराउने ठाउँमा छौँ, त्यसैले देशको स्वतन्त्रता, एकता, स्वाभिमान, स्वाधीनतालाई अक्षुण्ण राखेर सबैको पहिचानलाई स्थापित गराउछौँ, अधिकार नपाएका समुदायले क्रमिक रुपमा संविधान संशोधनको प्रक्रियाबाट अधिकार प्राप्त गर्नेछन् ।”

अहिलेसम्म केहि पनि प्राप्त भएको छैन भन्नु सही नहुने बताउँदै उहाँले हालका उपलव्धि पनि ठूलो प्रयासबाट सहमति र सम्वैधानिक प्रक्रियाबाट प्राप्त भएका र अव विगतमा झैँ सबैकुरा माग्ने प्रवृत्तिबाट अघि बढी अव गठन हुने विभिन्न जातजातिका आयोगमार्फत पनि अधिकार लिन आदिवासी जनजाति आफैँ अघि बढनुपर्ने पनि बताउनुभयो ।

पूर्वमन्त्री गोपाल किराँती, सांसद आरके खम्बु राईलगायतले कुनै पनि आदिवासी तथा जनजातिमाथि हुने गरेका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिँदै यायोक्खाले विगत देखि नै किरात जातिलाई एक बनाउने तथा किरात संस्कृतिको संरक्षण गर्नमा ठुलो योगदान पु¥याएको बताउनुभयो ।

किराँत राई यायोक्खाका अध्यक्ष यशोदा राईले सो समुदायको अधिकार तथा हकहितलाई कायम गर्न तथा संस्कृतिको संरक्षणमा आफ्नो संस्था क्रियाशील रहेको बताउनुभयो । देशभरका विभिन्न २५ जिल्ला तथा विभिन्न १५ मुलुकबाट करिब ५०० प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । महाधिवेशन यही फागुन २५ गतेसम्म प्रज्ञा–प्रतिष्ठानमा चल्नेछ ।

प्रतिक्रिया