पर्सा, २३ फागुन । हुँदै नभएको जग्गा बिक्री गरी ठग्ने एकै गिरोहका चारजनालाई ठगी गरेको अभियोगमा पर्सा प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी वीरगन्जको गीतामन्दिर रोडमा हुँदै नभएको सात धुर जग्गा बिक्री गरी ठगी गरेको अभियोगमा मालपोत कार्यालय पर्साका नायब सुब्बासहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
वीरगन्ज उपमहानगरपालिका वडा नं ८ गीतामन्दिर रोडमा सात धुर जग्गा देखाई रु ८० लाखमा बिक्री गरी ठगी गरेको अभियोगमा मालपोत कार्यालयका नासु मुरारीप्रसाद तिमल्सिना, जग्गाधनी बाराको कचोर्वा गाविस घर भइ हाल वीरगन्ज–८ बस्दै आएकी इन्द्रावती देवी गुप्ता, उनका श्रीमान् सन्दीप गुप्ता र सहयोगी राजेश गुप्तालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले जग्गाको कीर्ते प्रमाण खडा गरी काठमाडौँ, ललितपुर वडा नं २१ निवासी सचेन्द्र महर्जनसँग रु ८० लाखमा बिक्री गरी राजीनामा नै पास गरेकोे निवेदन महर्जनले प्रहरीलाई दिएको आधारमा अनुसन्धान गर्दा भूमाफियाहरुको गिरोह नै पक्राउ गर्न सफल भएको उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
नक्कली कागज प्रमाणका आधारमा वीरगन्जको प्राइम बैंकमा हुँदै नभएको जग्गा धितो राखी रु ४० लाख झिकेकी इन्द्रावतीले पछि महर्जनसँग बिक्री गरेको र सो कार्यमा मालपोत कार्यालय तथा बैंकका कर्मचारीसमेत संलग्न रहेको अनुसन्धानबाट देखिएको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले जग्गा ठगी प्रकारणमा मालपोत कार्यालयको कागजपत्र सच्याइएको र विधिवत् रुपमा राजीनामा समेत पास भएको देखिएकाले यस काममा अन्य कर्मचारीसमेत संलग्न रहेको अनुसन्धानबाट दोषी देखिएका अन्य कर्मचारीको खोजीकार्य भइरहेको बताउनुभयो । पक्राउ परेका अभियुक्तमाथि कीर्ते र ठगी दुवै मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया