सहकारी संस्थालाई ‘बचतकर्ता नठगिउन्’ भन्दै सर्कुलर

इनेप्लिज २०७२ फागुन २० गते २:१० मा प्रकाशित

काँकडभिट्टा (झापा), २० फागुन । डिभिजन सहकारी कार्यालय झापाले ठूला कारोबार गर्दै आएका जिल्लाका २८ वटा सहकारी संस्थालाई ‘कलेक्टरमार्फत बचतकर्ता नठगिउन्’ भन्दै सचेत गराएको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को चन्द्रगढीस्थित सेवा केन्द्रका कलेक्टर राम पाठकले बचतकर्ताबाट केही महिनाअघि सङ्कलित लाखौँ रकम ठगी गरेको खुलासा भएपछि केन्द्रीय निकायको निर्देशनानुसार डिभिजन सहकारीले अन्य सहकारीलाई समेत सचेत गराउँदै पत्र पठाएको हो ।

डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले रु पाँच करोडदेखि रु ५० करोडसम्मको कारोबार गर्दै आएकामध्ये २८ वटा सहकारीलाई सचेत पत्र पठाइएको बताउनुभयो ।

डिभिजनले सचेत पत्र पठाएका संस्थाहरू नेपाल बहुउद्देश्यीय सहकारी (एनएमसी), सहारा नेपाल बचत तथा ऋण सहकारी, जुरोपानी बहुउद्देश्यीय सहकारी, आधुनिक बचत तथा ऋण सहकारी, नागरिक बचत तथा ऋण सहकारी, कर्णाली बचत तथा ऋण सहकारी, जीविको कृषि सहकारी संस्था, धौलागिरि बचत तथा ऋण सहकारी, मेची सहकारी संस्था, हाम्रो नेपाल बचत तथा ऋण सहकारी, सिम्रिक बचत तथा ऋण सहकारी, सञ्जीवनी बचत तथा ऋण सहकारीलगायत रहेका छन् ।

सचेत पत्रसाथ एनएमसीका कलेक्टर पाठकले बचतकर्तालाई ठगी गरेकोसम्बन्धी पत्रपत्रिकामा प्रकाशित समाचारको कटिङसमेत पठाइएको छ । संस्थाको सेवा केन्द्रको विवरण र कलेक्टरको व्यक्तिगत विवरणसमेत डिभिजनले ती सहकारी संस्थासँग माग गरेको छ ।

सहकारीका सदस्यहरूको पासबुक र संस्थामा रहेको व्यक्तिगत लेजर खातालगायत अन्य आवश्यक कागजपत्र मिलान र भिडान गर्न र सोको जानकारी चाँडोभन्दा चाँडो पठाउन डिभिजन सहकारी कार्यालयले पत्रमा उल्लेख गरेको छ ।

डिभिजन सहकारीका प्रमुख पोखरेलले पहिलो चरणमा २८ वटालाई र निकट भविष्यमै अरु २८ वटा ठूला कारोबार गर्ने सहकारीलाई सोही आशयको सचेत पत्र पठाइने जानकारी दिनुभयो ।

“एउटा सहकारीमा ठगी भएपछि अरुमा पनि त्यस्तै अवस्था नआओस् भनेर सजग गराइएको हो”, डिभिजनका प्रमुख पोखरेल पत्राचार गर्नु पर्नाको कारणबारे जिज्ञासा राख्दा भन्नुहुन्छ – “बचतकर्ताको सुरक्षामा चासो देखाउनु हाम्रो कर्तव्य पनि हो ।”

स्रोतका अनुसार एनएमसीको कलेक्टरबाट भएको ठगी प्रकरणको समाचार पत्रपत्रिकामा आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘के भएको हो बुझी आवश्यक कारबाही अघि बढाउनु’ भन्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा मन्त्रालयले सहकारी विभागलाई र विभागले जिल्लास्थित डिभिजन कार्यालयलाई ध्यानाकर्षणपत्र पठाएको हो ।

झापामा ८५४ वटा सहकारी रहेका छन् जसमध्ये कलेक्टरमार्फत बचत सङ्कलन गर्दै आएका ५६ वटा सहकारीलाई डिभिजन सहकारी कार्यालयले सजग गराएको हो ।

प्रतिक्रिया