मनाङ र मुस्ताङमा पर्यटन प्रवद्र्धन गर्ने: प्रधानमन्त्री

इनेप्लिज २०७२ फागुन १९ गते १५:१६ मा प्रकाशित

Kp-Oli_1-1काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मनाङ र मुस्ताङ नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण स्थान भएको बताउनुभएको छ ।

नेकपा (एमाले)को केन्द्रीय कार्यालय धुमबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो “मनाङमा सडक, बिजुली, शिक्षा, स्वास्थ्य र पर्यटन गरी पाँच क्षेत्रको विकास गर्न वर्तमान सरकार प्रतिबद्ध छ” ।

देशमा दुई वर्षभित्रमा बिजुलीको दुःख, कष्ट हटाउने योजनाका साथ सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“तनहुँको चुदीरम्घादेखि लमजुङ, मनाङ र मुस्ताङलाई समेत समेटी आधुनिक स्मार्टसिटी बनाइनुपर्छ, यसबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा जिल्ला विकास समिति मनाङका पूर्वसभापति शेरबहादुर गुरुङलगायतदेखि राप्रपा परित्याग गरी एमाले प्रवेश गर्नुभएको थियो ।

नवप्रवेशीलाई पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सदस्यता, खादा र अबिरले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा एमाले मनाङका नेता ट्रिपल गुरुङ, जिल्ला पार्टी अध्यक्ष मनबहादुर गुुरुङ र नवप्रवेशी शेरबहादुर गुरुङले जिल्लाको पर्यटन विकासका लागि पूर्वाधार पहिलो सर्त भएकामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया