नवलपरासी, १८ फागुन । नवलपरासीको सोमनी गाविस वडा नं ७ बरगदवा गाउँका स्थानीयवासीलाई अझै पनि द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ ।
विसं २०६२ वैशाख २ गते एकैराति १२ जना सर्वसाधारणको हत्या भएको घटनाले अझै पनि यस गाउँका स्थानीयवासीले द्वन्द्वको प्रभावबाट मुक्ति पाउन सकेका छैनन् ।
सो गाउँमा २०६२ साल वैशाख २ गते तत्कालीन माओवादी कार्यकर्ताले तत्कालीन प्रतिकार समूहका सदस्यलाई आक्रमण गर्न खोज्दा दुई बालकसहित बरगदवा गाउँका १२ जना सर्वसाधारण मारिएका थिए ।
द्वन्द्वकालमा तत्कालीन माओवादी र प्रतिकार समूहको द्वन्द्वको नाममा बिनासित्ती १२ जना सर्वसाधारणले ज्यान गुमाएको घटना घटेको दिनलाई गाउँलेले कालो दिनका रुपमा स्मरण गर्न बाध्य छन् ।
बरगदवा गाउँका स्थानीयवासीले अहिलेसम्म पनि आफूहरु द्वन्द्वको प्रभावबाट बाहिर आउन नसकेको बताएका छन् । गाउँमा सहिद परिवार र द्वन्द्व प्रभावित परिवारले अझै पनि राज्य पक्षबाट पर्याप्त सेवा सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।
बरगदवा गाउँका द्वन्द्व प्रभावित स्थानीय, सहिद परिवारले राज्यले द्वन्द्वपीडितलाई प्रभावकारी रुपमा सेवा सुविधा दिन नसकेको साथै आफूहरुको कुरा सुन्न राज्य तयार नभएको गुनासो गरेका हुन् ।
द्वन्द्व भएको लामो समय भइसक्दा पनि सो घटनापछि हालसम्म दुई घरपरिवार गाउँ फर्केका छैनन् भने घटना घटेको करिब एक वर्षसम्म गाउँ पूर्णरुपमा विस्थापित हुन पुगेको थियो । सो बरगदवा गाउँमा हाल करिब १५० घरधुरी छन् ।
पछिल्लो तथ्याङ्कअनुसार द्वन्द्वकालमा नवलपरासीमा २१७ जनाको मृत्यु, बेपत्ता २०, घाइते ७२ र ३४ जना विस्थापितको सङ्ख्या रहेको छ ।
प्रतिक्रिया