एकता र विकासशील सोचले मात्र विकास: मन्त्री शर्मा

इनेप्लिज २०७२ फागुन १८ गते ३:३७ मा प्रकाशित

Rekha-Sharma-Minister-430x316तुलसीपुर (दाङ), १८ फागुन । सामान्य प्रशासनमन्त्री रेखा शर्माले एकता र विकासशील सोचले मात्र हरेक क्षेत्रको विकास हुन सक्ने बताउनुभएको छ ।

जिल्ला विकास समिति दाङको २४औँ जिल्ला परिषद्को सोमबार घोराहीमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सबैको एकताबाट नै विकासले गतिलिने बताउँदै योजनाको समयमा नै कार्यान्वयन गरी गुणस्तरमा ध्यान दिनसमेत सो अवसरमा आग्रह गर्नुभयो ।

दाङ जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको बताउँदै सामान्य प्रशासनमन्त्री शर्माले देश सङ्घीय संरचनामा जाँदै गर्दा अब दाङलाई कसरी प्रादेशिक राजधानी बनाउने भन्ने विषयले चर्चा पाएको भन्दै उहाँले त्यसलाई नै आधार बनाएर योजनाको छनोट गर्नुपर्नेसमेत बताउनुभयो ।

मन्त्री शर्माले संविधान कार्यान्वयन गर्न र सङ्घीयतालाई संस्थागत गर्नका लागि दलीय एकता आवश्यक रहेको पनि बताउनुभयो ।

अहिले जनप्रतिनिधिहरु नभएको अवस्थामा सम्पूर्ण जिम्मेवारी कर्मचारीमा रहेको बताउँदै मन्त्री शर्माले जनतालाई छिटो, छरितो, निर्भिकताका साथ प्रभावकारी सेवा प्रवाह गर्न उपस्थित सम्पूर्ण कर्मचारीलाई सो अवसरमा निर्देशनसमेत दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद युवराज ज्ञवालीले जिल्ला परिषद्मा छनोट भएका योजनालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

बजेट खर्च नभएर फिर्ता जाने प्रवृत्ति अन्त्य गर्नेतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । त्यस अवसरमा स्थानीय विकास अधिकारी रमेश गौतमले आगामी आव ०७३/७४ का लागि रु सात अर्ब ४८ को ४१ लाख १७ हजार ४१० को बजेट सो अवसरमा प्रस्तुत गर्नुभएको थियो ।

जिविस परिषद् बैठक सम्पन्न

यसैबीच, दाङ जिल्लाको २४आँै जिल्ला परिषद्ले आगामी आव २०७३÷७४ का लागि दाङको कुल बजेट आय तथा व्यय गरेर रु सात अर्ब ४८ करोड ४१ लाख १७ हजार ४१० विनियोजन गरेर सम्पन्न भएको छ ।

सोमबार घोराहीमा भएको २४औँ जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी गौतमले सो रकमको बजेट प्रस्ताव गर्नुभएको थियो । यसमा सरकारी कार्यालयको रु छ अर्ब २६ करोड २६ लाख १२ हजार ८६२ र गैरसरकारी संस्थाको रु एक अर्ब २२ करोड १५ लाख चार हजार ५४८ खर्च गर्ने गरी उहाँले प्रस्ताव गर्नुभएको थियो ।

त्यसैगरी, जिविस दाङको मात्रै आगामी आवका लागि रु एक अर्ब २६ करोड ५६ लाख ६३ हजार विनियोजन गरिएको छ । यसमा चालु खर्चतर्फ रु ४१ करोड ३७ लाख ६० हजार र पुँजीगततर्फ रु ७७ करोड ६४ लाख ९२ हजार रहेको छ ।

कार्यक्रममा जिल्लाका सांसद, जिल्लास्तरीय विभिन्न दलका नेता सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतका वक्ताले आ–आफ्ना भनाइ राखेका थिए ।

त्यस अवसरमा बोल्ने वक्ताले बजेटको सही कार्यान्वयन र गुणस्तरीय कामका लागि निगरानी बढाउन आवश्यक रहेको बताएका थिए ।

सोही कार्यक्रममा ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । ज्येष्ठ नागरिक विजौरी गाविस–६ निवासी १०१ वर्षीया बस्यौनी चौधरी र सिसहनिया–९ निवासी १०१ वर्षकै कटेसु चौधरीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, जिल्लाको समग्र विकासमा पत्रकारिताका माध्ययमबाट पुर्‍याएको योगदानको मूल्याङ्न गर्दै पत्रकारहरु शरद रेग्मी, नरेन्द्र केसी, टीकाबहादुर बस्नेत र सुनिल पोख्रललाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया