पाईलटको बलिदान र देश

इनेप्लिज २०७२ फागुन १७ गते ११:५० मा प्रकाशित

pilot

“The fear of death follows from the fear of life. A man who lives fully is prepared to die anytime.”

  • Mark Twain

गएको हप्ता नेपाली आकाशमा दुईवटा दुर्घटना भए – एउटा म्याग्दीमा र अर्को कालिकोटमा। फाल्गुन १२ गते म्याग्दीमा भएको तारा एयरको दुर्घटनामा चालकदल सहित २३ जनाको ज्यान गयो। यो दुर्घटनामा प्रारम्भिक अनुसन्धान अनुसार चालकको गल्ति देखिएको थियो। “क्लाउड (बादल) राडार सिस्टम” नभएको विमानलाई चालकले तेस्तो सिस्टम भएको भन्ठानेर बादल भित्र लानु गल्ति थियो। त्यो सानो भूलले २३ जनाको ज्यान गयो। त्यसको दुई दिनपछि फाल्गुन १४ गते कालिकोटमा भएको अर्को कास्थमण्डप एयरको दुर्घटनामा भने दुई चालक बाहेक अरु सबै बाँचेका थिए। चालकद्वय दिनेश न्यौपाने र सन्तोष रानाले आफू मरेर पनि ९ जना यात्रुहरुलाई बचाउन सफल भएका थिए। त्यसो गर्दा उनीहरुले आफ्नो पेसाको मर्यादा उँचो पार्नुका साथै एउटा साहसी बलिदान प्रदर्शन गरेका थिए।  प्रारम्भिक अनुसन्धान अनुसार त्यो विमानको यन्त्रमा गडबडी देखिएको थियो र बीच आकाशमै यन्त्रले काम गर्न छोडेको थियो। “एक यन्त्र” मात्र भएको विमानलाई यात्राले काम गर्न छोडेपछि हावामा “ग्लाइड” गर्दै, यात्रुहरुलाई अन्तिम समय सम्म नआतिन्न भन्दै, ती दुई बिमानचालकहरुले केहि उपाय नलागेपछि “क्र्याश ल्यान्दिङ्ग” गराएर आफू मरेर पनि यात्रुहरुलाई बचाए।

ती नौजवान चालकहरुको यो साहसी बलिदानको समाचार पढेर म सोचमग्न भएँ। कति आफ्नो, कति परिवारको सपनाहरु थिए होलान। जीवनको युवा-अवस्थामै एक्कासी संसार छोड्नु पर्यो, ती सपनाहरु सबै अपुरो रहँदै। तर जाँदा-जाँदै कमसेकम अरुलाई बचाएर अरुको र अरुको परिवारको सपना आफ्नो जस्तै बिग्रन दिएनन्। आफ्नो परिवारको आँखामा आँसु ल्याएर भएपनि अरुको परिवारको आँखामा आँसु झर्न दिएनन्। यो भन्दा ठूलो बलिदान के हुन सक्छ? यो भन्दा ठूलो जीवनको सार्थकता केमा हुन सक्छ? ती दुई चालकलाई हृदयदेखि सलाम छ।

दुर्घटनाको लगतै मैले केहि लेखहरुमा चालकहरुलाई दोषी देखाइएको पाइयो।  हो, पहिलो दुर्घटनामा चालको पनि दोष थियो। अरु कारण पनि हुन सक्छ मौसम सहित। यसमा त पहिला चालकलाई सुरक्षा सम्बन्धि भरपुर तालिम र कडा नियमन गर्नुपर्थ्यो।  दोश्रो दुर्घटनामा चालकको म तेस्तो दोष देख्दिन।  केही लेखमा चालकले यन्त्र मजबूत नभएको बिमान चलाउन अस्विकार गर्नु  पर्थ्यो भन्ने कुरा आयो। पहिला त म के भन्छु भने आफू ती चालकको ठाउँमा उभिएर पहिला सोच्नुस। नेपालमा जागिर पाउन नै मुस्किल छ, त्यो पनि बिमानचालकको जागिर त झन् गारो।  बिमान चलाउन नमाने जागिर नै छोड्न के तपाई तयार हुनुन्छा? हो, नेपालमा हवाई उद्योगमा ठूलो समस्या छ।  बिगत पाँच वर्षदेखि नेपाली बिमानहरुलाई युरोपिय आकाशमा उड्न निषेधित छ, यस्तै सुरक्षाको कम्जोर रेकर्डले। यसको लागि सरकारी तवरबाट नै चालको सुरक्षा तालिम र विमानको यन्त्र देखि विमानस्थलको प्रबिधिमा ठूलो सुधारको आवस्यकता छ नेपालको हवाई सुरक्षाको लागि। तर, ती दुई चालकहरुले आफ्नो व्यक्तिगत हिसाबले जे जति गरे त्यो ठूलो कदम हो। कसैले अरुको लागि आफ्नो ज्यानको बलिदान दिन सक्छ भने त्यसलाई म सधै एउटा उच्च सम्मानले हेर्दछु। यो एउटा उच्च कर्म हो ।

यी दुई दुर्घटनाले मेरो मनमा केहि कुराहरु खेल्न थाले। पहिला त नेपालजस्तो गरिब र विकसिल देशहरुमा मान्छेको ज्यान कति सस्तो छ – हेर्नुस सिरिया, इराक। कतै युद्धले त कतै नेपालमा जस्तै “क्यान्सर” जतिकै बेथितिले। सामान्य सुरक्षाको उचित पालना र त्यसको भरपूर तालिम र नियमन नहुँदाले बर्सेनि सयौं मानिसको हवाई दुर्घटनामा ज्यान जाने गरेको छ। झन् सडक दुर्घटनाको त कुरै नगरौं। सामान्य सुरक्षाको सुधारले कमसेकम ५०% यस्ता दुर्घटना कम हुन सक्नेमा यसरि अनाहकमा हजारौं मान्छेको सडक र हवाई दुर्घटनामा ज्यान जानु ज्यादै दुर्भाग्यपुर्ण कुरा हो।

दोश्रो कुरा अलि दार्शनिक पनि लग्न सक्ला तर हामीले देखिरहेको र भोगिरहेको सत्य हो। मान्छेको जीवनको कुनै ठेगान हुन्न, आज छ भोलि नहुन सक्छ। जीवनमा केहि कुरा निश्चित हुन्न सिबाय मृत्यु। मर्नु त सबैलाई एक दिन छ नै। तर केका लागि बाँच्ने र केका लागि मर्ने भन्ने कुरा मात्रै हो? तारा एयरका ती जवान चालक र जवान परिचारिकालाई दुर्घटनाहुनु अघिसम्म आफू यति चाडै त्यसरी मर्छु भन्ने लागेको थिएन होला। यो हामी सबैलाई लाग्ने कुरा हो। दोश्रो दुर्घटनाका जवान चालकहरुलाई पनि तेस्तै लागेको हुनु पर्छ। ती जवानहरुलाई आफ्नो र परिवारको सपना पूरा गर्ने र बिहे गरी घर बसाल्ने जस्ता कति सपना थिए होलान। तर, एक्कासी मृत्युले सबै कुरा लगिदियो। यो सोचेर म एक छिन गम्भीर भए।

“जेन ध्यान”ले पनि यहि कुरालाई बुझाउन खोजेको छ – हरेक क्षण मृत्युको आत्मसात। म आज हो कि भोलि मर्न सक्छु, जीवनको कुनै ठेगान छैन। यसो गर्छु उसो गर्छु भनेर सपना मात्रै बुनी रहने समय छैन। ती दुई चालकहरुले ९ जना मान्छेहरुको ज्यान बचाएर आफ्नो जीवन सार्थक बनाए। तेस्तै एक जनाको जीवन समर्पणले देशको भविष्य बन्छ भने मैले के आफ्नो देशको लागि आफ्नो जीवन समर्पण किन नगर्ने? देशले अहिले ती जवानले जस्तै जीवनको बलिदान मागेको छैन, वस् जीवनको समर्पण।  ज्यान र रगत हैन केवल पसिना र लगाव मागेको छ। के मैले त्यति पनि दिन सक्दिन? मेरो एउटा जीवन समर्पणले देश बनेर यस्ता दुर्घटनाहरु न्यून हुन्छन र हज्जारौं ज्यान वर्षेनी बच्छन भने मैले किन त्यसो नगर्ने? देशको राजनीति सुध्रिएर सारा जनताले खुसि पाउँछन् भने यो भन्दा उत्तम जीवनको सार्थकता केमा हुन सक्छ। त्यसो गर्न सकेमा ती दुई नौजवान चालकहरुको बलिदान खेर जाने छैन। भविष्यमा तेस्ता कयौं नौजवानहरुको ज्यान बलिदान हुनुपर्ने छैन।  वस्, देशलाई सक्षम, जिम्मेवार, र बलिदानी चालकको खाँचो छ।

[email protected]

प्रतिक्रिया