नवमीडाँडावासी अन्धकारमा

इनेप्लिज २०७२ फागुन १४ गते ९:३१ मा प्रकाशित

पाँचथर, १४ फागुन । केन्द्रीय प्रसारण लाइनको विद्युत् चार दिनदेखि अवरुद्ध हुँदा पाँचथरको नवमीडाँडावासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

जिल्लाको लुम्फाबुङ–नवमीडाँडा खण्डमा प्रसारण लाइनमा खरावी आएपछि अहिले त्यस गाविसका झन्डै २०० घरधुरी स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् ।

मर्मतका लागि स्थानीय उपभोक्ताले प्रयास गरेपनि असम्भव भएपछि विद्युत् उपभोक्ता समिति फिदिमलाई जानकारी गराए पनि केही पहल नगरिदिएको नवमीडाँडा विद्युत् उपभोक्ता समितिका अध्यक्ष होमप्रसाद आङ्देम्बेले बताउनुभयो ।

यता फिदिम केन्द्रका प्राविधिक रामचन्द्र खत्रीले भने नवमीडाँडा क्षेत्रमा इलाम केन्द्रले मर्मत गर्नुपर्ने बताउनुभएको छ ।

विद्युत् नहुँदा नवमीडाँडावासी अन्धकारमा बस्दै आएका छन् । उपभोक्तालाई मोबाइल चार्ज गर्न, कम्प्युटर चलाउनलगायतका विभिन्न विद्युतीय काम गर्न असहज भएको सेवाग्राही बताउँछन् ।

जिल्ला प्रहरीमा नब्बे मुद्दा

यसैबीच, जिल्ला प्रहरी कार्यालय पाँचथरमा छ महिनाको अवधिमा ९० वटा मुद्दा दर्ता भएका छन् ।

गत साउनदेखि माघ मसान्तसम्मको छ महिनामा ९० मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ती मुद्दामा १०३ अभियुक्त रहेकामा २६ अझै फरार छन् ।

प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार कार्यालयमा भवितव्य ज्यानका १७, केही सार्वजनिक अपराधका २७, जबर्जस्ती करणी पाँच, अपहरण एक, विष सेवन पाँच, झुन्डिएर आत्महत्या आठ र बहुविवाहका चारवटा मुद्दा दर्ता भएका हुन् ।

प्रतिक्रिया