खाद्य सुरक्षाको अधिकतम सहयोगी आलु

इनेप्लिज २०७२ फागुन ११ गते ३:३७ मा प्रकाशित

potatoजुम्ला, ११ फागुन । जिल्ला कृषि विकास कार्यालय जुम्लाले आलुबालीलाई खाद्य सुरक्षाको अधिकतम सहयोगीका रुपमा लिएको छ ।

प्रतिहेक्टर १० टन उत्पादन हुने यो बाली यसवर्ष जुम्लामा २६ हजार पाँचसय मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

उन्नत जातका खुमल सेतो, कार्डिनल, एनपिआई १०६, कुफ्री ज्योति, जनकदेव र स्थानीय आलुसहित यो परिमाण उत्पादन भएको निमित्त वरिष्ठ कृषि विकास अधिृकत विष्णुबहादुर महतले जानकारी दिनुभयो ।

अधिकृत महतले अछाम, बझाङ, जाजरकोट, दैलेख, सुर्खेत नेपालगन्ज गरेर २४ मेट्रिक टन प्रतिकेजी रु ३० का दरले निर्यात गरिएको र बाँकी सबै जुम्लामा खपत भएको बताउनुभयो ।

आलुलाई लुकेको सम्पदा (हिडेन ट्रेजर) भनिन्छ, यसमा कार्बोहाइड्रेड, स्टार्चलगायतका आठ प्रकारका पोषणयुक्त तत्व पाइन्छ । तर यसको व्यापक प्रचारप्रसार हुन सकेको छैन ।

खुमल सेतो देख्नमा राम्रो र खानमा मीठो हुने भएकाले यसको उत्पादन जुम्लामा बढी भएको जनाइएको छ । आलुबाट चिप्स, फ्रेन्च फ्राई, समोसा, हलुवाई, ढिँडो, पिठो, भोट्कालगायतका विविध परिकार बनाउन सकिन्छ । यसले कर्णालीका नागरिकको खाद्य सुरक्षामा बढी टेवा दिएकाले कृषि कार्यालयले प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्ने नीति लिएको छ ।

दुमट माटोमा उत्पादन गरिने यो बाली जुम्लाका चौधबीस, पाँचसय र सिंजा भेकमा बढी उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । स्थानीय आवश्यकतालाई परिपूर्ति गरे पनि भनेजति आलु उत्पादन हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया