संविधानको पूर्ण कार्यन्वयन भएमा मात्र सहिदको सपना साकार हुनेः खनाल

इनेप्लिज २०७२ फागुन ७ गते १२:५५ मा प्रकाशित

jhalanath-khanalइलाम, ७ फागुन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको पूर्ण कार्यान्वयन भएमा मात्र सहिदको सपना पूरा हुने बताउनुभएको छ ।

छैसठ्ठीऔँं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा इलाम जिल्ला मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जहानियाँ राणाशासन, २०३६ साल, २०४६ साल र २०६२÷६३ सालमा भएका आन्दोलनमा राष्ट्रलाई राजतन्त्रबाट मुक्ति दिलाउने वीर सहिदको सम्मान गर्नुपर्ने बताउनुभयो ।

नेपालमा हालै जारी भएको नयाँ संविधानले नेपाली जनतालाई समान हक र अधिकार दिलाएको उल्लेख गर्दै यसले सबैखाले विभेद्को अन्त्य गरेको बताउनुभयो ।

लोकतान्त्रिक संविधान, देशभक्तिपूर्ण, परिवर्तनमुखी र समाजवाद उन्मुख संविधान जारी भएकाले देश विकासमा जुट्न सबैलाई आग्रह समेत गर्नुभयो ।

समाजमा जारी गरिबी, अशिक्षा र बेरोजगारी समस्यालाई उन्मूलन गर्न नयाँ संविधानले प्रशस्त मार्गदर्शन गरेको विचार व्यक्त गर्नुहुँदै उहाँले आर्थिक विकासको ढोका खुल्ला भएको बताउनुभयो ।

प्रमुख राजनीतिक दलको अडानका कारण मुलुकले लामो समयपछि संविधान पाएको उल्लेख गर्दै उहाँले संविधान जारीपछि पनि राजनीतिक दलबीच राष्ट्रिय हितका पक्षमा सदैव एकतावद्ध हुनुपर्ने आवश्यकता औंँल्याउनुभयो ।

मुलुकमा लामो समयदेखि जरा गाडेको राजतन्त्रको समूल अन्त्य भई मुलुक आर्थिक समृद्धि र विकासको पक्षमा अघि बढेको बताउँदै उहाँले अब आर्थिक क्रान्तिलाई न देश इतरको शक्तिले रोक्छ न त देशभित्रको शक्तिले रोक्न सक्छ, अब जस्तोसुकै कठिनाइको सामना गर्न सक्षम छ ।’

स्थानीय विकास अधिकारी तथा मूल समारोह समितिका अध्यक्ष मदन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा नेपालका हरिबहादुर डिसी, उद्योग वाणिज्य सङ्घकी अध्यक्ष सुशीला सापकोटा, नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष ख्याम भुजेलले प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने सहिदको सदैव सम्मान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया