रेडपाण्डा तस्करीमा सङ्लग्न आरोपमा एक पक्राउ

इनेप्लिज २०७२ फागुन ३ गते ६:१९ मा प्रकाशित

Red-panda_20150202104522इलाम, ३ फागुन । रेडपाण्डा संरक्षणका लागि राखिएको ट्रापिङ क्यामेरा र पासोसहित इलाम माईझुवाबाट प्रहरीले रेडपाण्डा तस्करलाई पक्राउ गरेको छ ।

विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको चोरी निकासी नियन्त्रणका लागि मावुमा राखिएको आधुनिक क्यामेरा, रेडपाण्डालाई मार्न प्रयोग हुने पासोसहित माईमझुवा–८ का ४२ वर्षीय धनबहादुर राईलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

रेडपाण्डाको आहारविहारका लागि रेडपाण्डा नेटवर्क नेपालले राखेको ट्रापिङ क्यामेरामा राईले पासो थाप्दै र क्यामेरा चोर्दै गरेको दृश्य अर्काे ट्रापिङ क्यामेराले कैद गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) र जिल्ला प्रहरी कार्यालयको सहयोगमा राईलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो ।

पक्राउ परेका राईलाई हिरासतमा राखेर थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्क नेपालको सहयोगमा मावु, माईमझुवा गाविसमा पाँचवटाभन्दा बढी ट्रापिङ क्यामेरा जडान गरिएको थियो ।

क्यामेरा राखेको थाहा नहोस् भनेर लेन्सबाहेक अन्य भागलाई रूखको टोड्को, झ्याउ आदि कुनै भागमा लुकाएर राखिए पनि तस्करहरूले क्यामेरा लुटेर लैजाने गरेको रहस्य खुल्न आएको छ ।

जिल्लाको मावु, जमुना, नयाँबजार, माइपोखरी, माईमझुवा, पुवा मझुवालगायतका सामुदायिक वनमा रेडपाण्डा पाइन्छ ।

रेडपाण्डा मारेको, तस्करी गरेको प्रमाणित भए १० वर्षसम्म कैद र रु ४० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको सहायक वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया