गौरीगाई गणना गर्न प्रस्ताव

इनेप्लिज २०७२ फागुन ३ गते ६:१० मा प्रकाशित

gauri gaiचितवन, ३ फागुन । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष कार्यालयले संयुक्त रुपमा दुर्लभ गौरीगाईको राष्ट्रिय रुपमा गणना गर्न वन्यजन्तु विभागमा समक्ष प्रस्ताव गरेका छन् ।

विगत नौ वर्षदेखि गौरीगाईको गणना नभएकाले सो प्रस्ताव गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जको आरक्षमा गौरीगाई रहेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार सन् २००७ मा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा मात्र गौरीगाईको गणना गरिएको थियो । त्यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा ३१२ र पर्सा वन्यजन्तु आरक्षमा २१ वटा गौरीगाई भेटिएको थिए ।

दुई वर्षअघि उदयपुरको त्रिपुरा वनमा दुर्घटनामा गौरीगाई परेपछि देशका अन्य भागमा समेत गौरीगाई रहेको अनुमान गर्दै देशैभर गणना गर्न विभागमा प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

सन् २०११ मा पर्सा वन्यजन्तु आरक्षमा विद्यार्थीहरुले अध्ययनका क्रममा गणना गर्दा ३० वटा गौरीगाई देखेको प्रतिवेदन बुझाएका थिए । चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीका क्रममा गौरीगाई जम्काभेट हुने क्रम बढेका कारण कूल सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको निकुञ्जका प्रवक्ता समेत रहनुभएका अर्यालले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको इन्टरनेसनल युनियन फर नेचर कन्जभेसनले (भर्नेवल) दुर्लभ जातिको सूचीमा गौरीगाई राखेका छ । गाई प्रजातिको अर्ना झण्डै बीस वर्षअघि लोप भएको छ । यसलाई लोप हुन नदिन संरक्षणमा नयाँ रणनीति तय गर्न पनि गणना आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

जाती दुईदेखि ५० वटासम्मको समूहमा बस्ने गर्दछ । चितवन राष्ट्रिय निकुञ्जको कसराको पूर्वी क्षेत्रको गौर मचानदेखि सुनाचुरी क्षेत्रका साथै टाइगरटप्स र टेम्पलटाइगर क्षेत्रमा बढी मात्रामा देखिने गर्दछ । चोरी सिकारीको समस्या त्यति धेरै नदेखिने भए पनि बाघले यसको बच्चा खाइ दिने समस्याका कारण सङ्ख्या वृद्धिमा प्रभाव पर्दैआएको छ ।

प्रतिक्रिया