सिँचाइका लागि तालको संरक्षण

इनेप्लिज २०७२ फागुन ३ गते २:१३ मा प्रकाशित

दाङ, ३ फागुन । दाङको रामपुर गाविसका स्थानीयवासी सिँचाइका लागि तालको संरक्षणमा जुटेका छन् ।

खेतीयोग्य जमिन भए पनि सिँचाइ नहुँदा उत्पादनमा कमी आउन थालेपछि स्थानीयवासी सिँचाइका लागि तालको संरक्षणमा जुटेका हुन् । भोटेदहको पानी संरक्षण गरी किसानले ४० बिगाहा खेतीयोग्य जमिनमा सिँचाइ गर्ने गरेका छन् ।

किसानले ताल र सिमसार क्षेत्रको संरक्षण गरी मौसमी बालीका साथै व्यावसायिक तरकारीखेतीसमेत गरिरहेको राममणि पाण्डेले जानकारी दिनुभयो ।

किसानले तालको संरक्षण गर्नुका साथै सिमसार क्षेत्रमा रहेका प्राकृतिक सम्पदाको संरक्षण गर्न थालेपछि सिँचाइ सहज भएको छ । यसले स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुदै गएको स्थानीयवासीको भनाइ छ ।

ताल संरक्षणका लागि रुपान्तरणबाट प्राप्त रु तीन लाख र जिल्ला वन कार्यालयमार्फत जिल्ला भूसंरक्षण कार्यालयबाट प्राप्त रु तीन लाख गरी रु छ लाखको लागतमा स्थानीयवासीले तालको संरक्षण अभियान थालेका छन् ।

पानीको मुहान संरक्षणका लागि स्थानीयवासीमा ज्ञान नहुँदा तालसँगै वरपरका खोला तथा गाउँका कुवासमेत सुक्न थालेको भन्दै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तिलकराम पौडेलले तालको संरक्षण अभियान थालेपछि ताल संरक्षणका साथै गाउँका इनारसमेत सुक्न छोडेको बताउनुभयो ।

प्रतिक्रिया